बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ।
नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३ अनुसार असार २८ गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी सङ्ख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउनसाइजिङ गरिएको हो।
निर्णयअनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय (बजदिया), बिपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय (टेडुवा), गौरीशङ्कर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय (बुटाबारी) र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय (शान्तिपुर) मा समायोजन गरिनेछ।
त्यस्तै, हाल कक्षा ५ सम्म सञ्चालन हुँदै आएका शक्ति, शुक्लाफाँटा, कृष्णप्रसाद र सरस्वती आधारभूत विद्यालयमा अब कक्षा १ देखि ३ सम्म मात्र पठनपाठन सञ्चालन हुनेछ।
नगरपालिकाले विद्यालय समायोजन र कक्षा घटाउने निर्णयबाट शैक्षिक स्रोत–साधनको प्रभावकारी उपयोग, शिक्षक दरबन्दीको उचित व्यवस्थापन तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बेलौरी नगरपालिकामा हाल १७ वटा आधारभूत विद्यालय, १४ वटा माध्यमिक विद्यालय र दुई वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन्।
प्रकाशित: ३२ असार २०८३ ०६:१९ बिहीबार



