भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा तीन देशका कला, संस्कृति, भाषा, परम्परा तथा असल रीतिरिवाज झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए।
एभरेस्ट इङ्लिस स्कुल, मिवाछें, व्यासी, भक्तपुरले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले नेपाली, चिनियाँ तथा जर्मन संस्कृति झल्काउने गीत, नृत्य, कला र अन्य सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रस्तुतिमार्फत विद्यार्थी तथा सहभागीले तीनै देशका मौलिक संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी लिने अवसर पाएका थिए।
विद्यार्थीलाई पाठ्यपुस्तकीय ज्ञानसँगै विभिन्न देशका भाषा, कला, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको विद्यालयले जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीमा सांस्कृतिक विविधताको सम्मान, सहिष्णुता, विश्वबन्धुत्व तथा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
नेपाल, चीन र जर्मनीका संस्कृति एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले तीन देशबीचको सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउने सहभागीहरूले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालस्थित सम्बन्धित नियोगका उच्च पदाधिकारी, अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कला, संस्कृति तथा असल रीतिरिवाजबाट सकारात्मक कुरा सिक्दै अघि बढ्नुपर्ने बताए। विभिन्न देशका कला र संस्कृति कुनै एक समुदाय वा राष्ट्रका मात्र नभई विश्वकै साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले सांस्कृतिक आदानप्रदानले आपसी समझदारी, सम्मान र सद्भाव अभिवृद्धि गर्ने बताए।
संस्थापक प्रिन्सिपल राजभण्डारीले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चिनियाँ स्वयंसेवक शिक्षक, जर्मन भाषा शिक्षक तथा सांस्कृतिक कार्यक्रम संयोजनमा संलग्न सबैप्रति धन्यवाद ज्ञापन गरे।
प्रकाशित: २६ भाद्र २०८३ २०:०४ शुक्रबार



