अधिकांश विद्यालयमा विद्यार्थीहरूले आफ्नो जन्मदिनमा साथीसंगीलाई चकलेट बाँड्ने परम्परा सामान्यजस्तै मानिन्छ। तर एभरेस्ट भक्तपुर स्कुल मा भने फरक अभ्यास देखिन्छ। यहाँ विद्यार्थीहरूले जन्मदिनमा चकलेट किनेर बाँड्ने होइन, त्यही पैसालाई ‘जन्मदिन कोष’ मा जम्मा गर्छन्। वर्षभरि यसरी संकलित रकमबाट पुस्तक खरिद गरी देशका दुरदराजका विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप प्रदान गर्ने गरिएको छ।
शनिबार विद्यालयमा आयोजित कार्यक्रममार्फत यही अभ्यासलाई निरन्तरता दिइएको छ। विद्यालयले आफ्नो १६औँ ‘ओपन डे’ कार्यक्रमको अवसरमा खोटाङ जिल्लास्थित विद्योदय सेकेण्डरी स्कुल लाई पुस्तक सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा प्रमुख अतिथि रजनी जोशी ले उक्त विद्यालयका प्रधानाध्यापकलाई पुस्तकहरू हस्तान्तरण गरिन्।
विद्यालयका संस्थापक–प्रिन्सिपल भक्त राजभण्डारी का अनुसार वि.सं. २०६६ मा स्थापना गरिएको ‘एभरेस्ट जन्मदिन कोष’ मार्फत हालसम्म देशका ३२ जिल्लाका ३५ वटा सामुदायिक विद्यालय मा पुस्तकालय स्थापना तथा विस्तारका लागि सहयोग गरिएको छ।
विद्यालयले विद्यार्थीहरूमा सकारात्मक मूल्य र संस्कार विकास गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक तथा सामाजिक गतिविधिहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ। बुद्ध पूर्णिमामा मुठीदान, दसैंमा जमरा राख्ने अभ्यास, कुकुर तिहार, म्हः पूजा, आमाको मुख हेर्ने तथा बुवाको मुख हेर्ने कार्यक्रम, हजुरबुवा–हजुरआमासँग नाति–नातिनी कार्यक्रम, कलर डे तथा जङ्गल पदयात्राजस्ता गतिविधि विद्यालयमा नियमित रूपमा आयोजना हुने गरेका छन्।
यसैगरी विद्यालयले काठमाडौँ विश्वविद्यालयलगायत संस्थासँग सहकार्य गर्दै शिक्षक तथा अभिभावकका लागि विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।
भक्तपुर नगरपालिका–२, मिबाछेँ स्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा संस्थापक–प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी ले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य तथा एभरेस्ट जन्मदिन कोषका सद्भावनादूत डा. तोयानाथ खनाल को उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिबारे जानकारी दिइएको थियो। साथै प्लेग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत ४४१ विद्यार्थी ले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। विद्यालयका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुति क्षमताको विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ २०:३५ शनिबार



