मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। आन्तरिक विवाद र किचलोबिच सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नियमित राजनीतिक प्रक्रिया त पूरा गर्ने नै छ तर महाधिवेशन केवल नेतृत्व चयन गर्ने थलो मात्र होइन र बन्नुहुँदैन। यो आफैंलाई ऐनामा हेर्ने महत्त्वपूर्ण उत्सव हो। दुर्भाग्य, विगतलाई केलाउँदै, वर्तमानलाई हेर्दै भविष्यलाई नियाल्नुपर्ने कांग्रेस गुटगत संघर्ष र वैधानिकताको प्रश्नमा अलमलिन पुगेको छ।
मुलुकको लोकतान्त्रिक आन्दोलनको अगुवा कांग्रेसको लामो इतिहास छ। तर, पार्टीको वैधानिकताको विवादलाई लिएर कांग्रेस विभाजित देखिनु सामान्य मतभेद मात्र होइन। विगतको पथ प्रदर्शक कांग्रेस आज आफ्नै घर मिलाउन नसक्ने अवस्थामा पुगेको छ। त्यसले प्रश्न उठ्छ– आफ्नै पार्टी मिलाउन नसक्ने कांग्रेसले देश कसरी मिलाउँछ र मुलुक कसरी बनाउँछ ? महाधिवेशनको उद्घाटनमै पार्टीका निवर्तमान सभापतिसहित केही पाका नेताहरू अनुपस्थित हुनु र समानान्तर महाधिवेशनको तयारी अघि बढ्नुले कांग्रेसभित्रको आन्तरिक कलह कुन तहमा छ भन्ने देखाउँछ।
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन। असहमति पनि लोकतन्त्रकै हिस्सा हो तर असहमति व्यवस्थापन गर्ने संस्थागत क्षमता कमजोर भएर एउटै पार्टीभित्र समानान्तर राजनीतिक संरचनाको अभ्यास हुन थाल्नु सुखद होइन।
कांग्रेससँग इतिहास छ। लोकतान्त्रिक आन्दोलनको विरासत छ। विगतका राजनीतिक परिवर्तनमा उसको भूमिका छ। तर, इतिहास वर्तमानको विकल्प होइन। विगतको योगदानले वर्तमानको कमजोरीलाई अनन्तकालसम्म ढाक्न सक्दैन। आजको कांग्रेसले आजका नागरिकका प्रश्नको उत्तर दिन सक्नुपर्छ। महाधिवेशनको बहस नेतृत्वको अंकगणित होइन। कांग्रेस कस्तो राजनीतिक शक्ति बन्ने अनि मुलुकमा विद्यमान समस्याको समाधानका लागि कस्ता योजना, कार्यक्रम र दृष्टिकोण बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ।
नवजवानहरूले देशभित्रै रोजगारी खोजिरहेका छन्। तर, मुलुकमा उत्पादन र अवसरको संकट, सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको छ। भ्रष्टाचार र अनियमितताको प्रश्न गम्भीर छ। शिक्षा, स्वास्थ्यसहितका विषयमा नागरिकको समान पहुँच छैन। कांग्रेसलाई अहिले गुट होइन, नीति चाहिएको छ। गुटले निर्वाचन जित्न सक्छ, पार्टी कब्जा गर्न सक्छ, पद बाँड्न सक्छ तर देश चलाउन गुट होइन नागरिकको विश्वास जित्नुपर्छ।
महाधिवेशनमा कसको समूह कति बलियो छ भन्नेभन्दा कांग्रेसको आर्थिक नीति के हो ? रोजगारी सिर्जना गर्ने योजना के हो ? सुशासन कसरी स्थापित गर्ने हो ? भ्रष्टाचार नियन्त्रणमा आफ्नै नेतृत्व र कार्यकर्ताका लागि मापदण्ड के हो ? संघीयतालाई प्रभावकारी बनाउने उपाय के हो ? सार्वजनिक शिक्षा र स्वास्थ्यलाई कसरी सुधार्ने हो ? महाधिवेशनबाट कांग्रेस यस विषयमा स्पष्ट भएर आउनसक्नुपर्छ।
अर्को लोकतान्त्रिक पार्टीमा विधि र विधानको सम्मान पहिलो सर्त हो। महाधिवेशन कसरी बोलाइयो ? प्रतिनिधि कसरी चयन भए ? कुन प्रक्रिया वैधानिक हो र कुन होइन ? भन्ने प्रश्न आफैंमा महत्त्वपूर्ण छन्।
समानान्तर महाधिवेशनको बाटोले तत्काल कुनै पक्षलाई शक्ति दिएको देखिए पनि त्यसले दीर्घकालमा पार्टीलाई कहाँ पुर्याउँछ भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ। विभाजन कांग्रेसका लागि नयाँ होइन। फुट्न सजिलो हुन्छ तर त्यसबाट बनेको अविश्वास मेटाउन निकै कठिन हुन्छ। कांग्रेसले फेरि त्यही बाटो दोहोर्याउने हो कि नयाँ राजनीतिक संस्कार निर्माण गर्ने हो?
पुस्तान्तरण भनेको केवल पुरानो अनुहार हटाएर नयाँ अनुहार ल्याउनु होइन। उमेर परिवर्तनले मात्र राजनीतिक संस्कार परिवर्तन हुँदैन। नयाँ नेतृत्वले पुरानै गुट, पुरानै भागबन्डा, पुरानै शक्ति अभ्यास र पुरानै निर्णय शैलीलाई निरन्तरता दियो भने त्यो पुस्तान्तरण होइन, केवल अनुहार परिवर्तन हुनेछ। वास्तविक पुस्तान्तरण भनेको सोचको परिवर्तन हो। निर्णय गर्ने शैलीको परिवर्तन हो। कार्यकर्तालाई उपयोग गर्ने होइन, सहभागी बनाउने संस्कार हो। नेतृत्वलाई प्रश्न गर्न सक्ने वातावरण निर्माण गर्ने हो। पदलाई अवसर होइन, जिम्मेवारी ठान्ने राजनीतिक संस्कार हो।
लोकतन्त्रको पक्षमा भाषण गर्नु र आफ्नै पार्टीभित्र लोकतान्त्रिक संस्कार अभ्यास गर्नु फरक कुरा हो। असहमति सुन्न नसक्ने, आलोचनालाई शत्रु ठान्ने, नेतृत्वको वरिपरि शक्ति केन्द्रित गर्ने र संस्थाभन्दा व्यक्तिलाई ठुलो बनाउने प्रवृत्तिले लोकतान्त्रिक दल र लोकतन्त्रलाई कमजोर बनाउँछ। अरूलाई लोकतन्त्रको पाठ पढाउनुअघि आफ्नै संगठनभित्र त्यो पाठ व्यवहारमा देखाउन सक्नुपर्छ।
इतिहासले कांग्रेसलाई ठुलो राजनीतिक पुँजी दिएको छ तर इतिहासको ब्याज खाएर राजनीति सधैं चल्दैन। वर्तमानमा काम गर्नुपर्छ। वर्तमानका प्रश्नको उत्तर दिनुपर्छ। जनताको बदलिएको मनोविज्ञान बुझ्नुपर्छ। महाधिवेशनले गुट व्यवस्थापन होइन, नीति पुनर्निर्माण हुनुपर्छ। पद बाँडफाँट होइन, संस्था निर्माण हुनुपर्छ। शक्ति प्रदर्शन होइन, जनविश्वास पुनर्निर्माण हुनुपर्छ। गुटहरूको योगफल होइन, नीतिमा आधारित लोकतान्त्रिक शक्ति बन्ने बाटो तय गर्नुपर्छ। अन्यथा इतिहासको गौरव मात्र कांग्रेससँग बाँकी रहनेछ।
प्रकाशित: १९ आश्विन २०८३ ०६:१२ सोमबार