अर्थ

यस्तो छ काठमाडौं उपत्यकाका ग्यास उद्योगहरूको ‘रिफिलिङ’ व्यवस्था

कृष्णभीरको पहिरोका कारण मुग्लिन–थानकोट सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले उपत्यका केन्द्रित ग्यास उद्योगलाई उपत्यकाबाहिरका उद्योगबाट रिफिलिङ गर्ने व्यवस्था मिलाएको छ।

निगमका अनुसार काठमाडौं, धादिङ र काभ्रेमा मुख्य कार्यालय वा प्लान्ट रहेका १८ वटा ग्यास उद्योगलाई तराई तथा भित्री मधेशका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास भर्ने सुविधा दिइएको हो।

जसअनुसार काठमाडौंको चोभार–चल्लाखेल र धादिङको नौबिसेमा प्लान्ट रहेका एभरेष्ट र सुगम ग्यासलाई मकवानपुरको साहारा ग्यास उद्योगबाट रिफिलिङ गर्न सक्ने व्यवस्था गरिएको छ।

काभ्रेको सांगामा रहेको गौरीशंकर ग्यासलाई वीरगन्जको सुपर ग्यास, धादिङको सीता श्री ग्यासलाई बाराको डुमरवानास्थित ग्यास वान नेपालबाट रिफिलिङको सुविधा दिइएको छ।

त्यस्तै, बालाजुको नेपाल ग्यास र धादिङको हिमालय पेट्रोकेमिकल्सलाई जनकपुर तथा चितवनमा रहेका नेपाल ग्यास (नारायणी) र नेपाल ग्यास (गण्डकी)बाट ग्यास भर्ने व्यवस्था गरिएको छ।

धादिङको थाक्रेमा रहेको मेट्रो काठमाडौं ग्यासलाई वीरगन्जको मनोज ग्यास र चितवनको खैरहनीस्थित बाबा ग्यासबाट रिफिलिङ गर्न सक्ने सुविधा दिइएको निगमले जनाएको छ।

यसैगरी, काभ्रेको बनेपास्थित सगरमाथा ग्यासलाई नवलपरासीको परासीस्थित चण्डेश्वरी ग्यास, धादिङको थाक्रेको श्री ग्यासलाई चितवनको खैरहनीस्थित बाबा ग्यास, धादिङको श्रीराम ग्यासलाई गैंडाकोटस्थित जानकी ग्यास तथा धादिङको क्यावसन र काभ्रेको नालास्थित उग्रचण्डी ग्यासलाई बारास्थित लियो ग्यास उद्योगबाट रिफिलिङ गर्ने सुविधा उपलब्ध गराइएको छ।

सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक रिफिलिङको व्यवस्था गरिएको निगमले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८३ २२:२९ बुधबार