अर्थ

चितवनमा यसरी मनाइयो पहिलो कोदो दिवस

चितवनमा पहिलो कोदो दिवस मनाइएको छ। भरतपुर महानगरपालिका र भरतपुर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले आज संयुक्त रूपमा कोदो रोपेर दिवस मनाएका छन्। 

कोदो रोप्दै भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले कोदोको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए। उनले भरतपुर महानगरपालिकाले रैथाने बालीलाई लोप हुन नदिन अनुदानलगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले कोदोलगायतका रैथाने खेती गर्ने किसानलाई प्रतिकट्ठा एक हजार रुपैयाँको दरले अनुदान दिने तयारीमा रहेको बताए। ‘बाँझो जमिनलाई उत्पादनमा जोड्नुपर्छ भन्ने महानगरपालिकाको जोड हो,’ उनले भने, ‘बाँझो जमिन राख्नेलाई हामीले जरिवाना लगाउने तयारी गरेका छौँ।’ पौष्टिक तत्वले भरिपूर्ण कोदोले मानिसको आर्थिक उन्नतिमा सहयोग पुग्ने उनको विश्वास छ।  

यहाँ सहकारीमार्फत विगतदेखि रैथाने बाली कोदो संरक्षण गरिँदै आएको छ। सहकारीले विगत पाँच वर्षदेखि आफ्ना सदस्यलाई कोदो उत्पादनका लागि प्रोत्साहन गरिरहेको सहकारीका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए। उनले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यमार्फत अभियान सञ्चालन गरिरहेको बताए। उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्न पहिलोपटक सामूहिक रूपमा कोदो रोपिएको हो।  

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसले घडेरी किन्दै बाँझो राख्ने क्रम उच्च छ,’ सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्न यो अभियान चलाएका हौँ।’ सापकोटाका अनुसार भरतपुर महानगरपालिका ८ र ९ नम्बर वडामा करिब १० बिघा जमिनमा कोदो रोपिएको छ। यो वर्ष मात्रै सहकारीमार्फत बिउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ।  

सहकारीले तीन वर्षअघि काभ्रेबाट एक केजी रैथाने कोदोको बिउ ल्याएर रोपेको थियो। त्यसबाट ४१ केजी बिउ उत्पादन भएको थियो। गत वर्ष सहकारीले सात क्विन्टल कोदो उत्पादन गरेको सापकोटाले जानकारी दिए।  

भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताए। महानगरपालिकाले रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै उनले वडाबाट बजेट विनियोजन गरिएको बताए। उनले जग्गा भाडामा लिएर कोदोखेती गर्ने किसानलाई भाडाको पैसा तिर्ने बताए।  

लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीय हर्षित भएका छन्। भरतपुर ८ की लिलावती कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताइन्। विगतमा पहाडमा रहँदा २५ मुरीसम्म कोदो उत्पादन गरेकी उनले चितवन झरेपछि कोदो रोप्न छाडेकी थिइन्। अहिले सहकारीमार्फत कोदो रोप्दा खुसी लागेको अनुभव सुनाइन्।  

आइपिएम प्रशिक्षक रमा ढुंगानाले खाद्यान्नमा विषादीको मात्रा बढिरहेको समयमा विषादीरहित कोदोको प्रवर्द्धन गर्नुपर्ने बताइन्। सरकारले यो वर्ष कोदोलाई महत्त्व दिँदै दिवस मनाउन लागेकोमा उनले धन्यवाद दिइन्।  

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ। यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा गर्न सकिने भएकाले किसानका लागि लाभदायी हुने कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताए। उनले कोदोलगायतका रैथाने बालीको संरक्षणका लागि सरकार लागिपरेको बताए। तराईमा खडेरीका कारण धान उत्पादन घटिरहेका बेला सरकारले कोदोको उत्पादन र विस्तारलाई महत्त्वका साथ हेर्न थालेको बताए।  

चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव २ मेट्रिक टन छ। गत वर्ष जिल्लामा १ हजार ५० हेक्टरमा कोदो खेती गरिएको कँडेलले बताए। जसबाट १ हजार २ सय मेट्रिक टन कोदो उत्पादन भएको छ।

प्रकाशित: १६ श्रावण २०८२ २१:४० शुक्रबार