खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ६ लाख ७३ हजार ५७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङका शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयले १ हजार ४७४ क्विन्टल चामल बिक्री गरेको हो। कुल बिक्रीमध्ये ७७७.७५ क्विन्टल जिरा मसिनो र ६९६.२५ क्विन्टल सोना मन्सुली चामल रहेको उनले जानकारी दिए।
तिम्सिनाका अनुसार कार्यालयले ६४ लाख २ हजार २५० रुपैयाँ बराबरको जिरा मसिनो चामल तथा ४२ लाख ७१ हजार ३२५ रुपैयाँ बराबरको सोना मन्सुली चामल बिक्री गरेको छ।
कार्यालयले एक आर्थिक वर्षको अवधिमा उपभोक्तालाई ४ लाख ७७ हजार ७५० रुपैयाँ बराबरको सहुलियत छुट प्रदान गरेको जनाएको छ। शाखा प्रमुख तिम्सिनाका अनुसार ८८७.२५ क्विन्टल चामल सहुलियत मूल्यमा बिक्री गरिएको हो।
जेठ र असार महिनामा मात्र कार्यालयले ३६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको ५०० क्विन्टल चामल बिक्री गरेको तिम्सिनाले जानकारी दिए।
हाल कार्यालयमा ५५४ क्विन्टल स्टिम जिरा मसिनो र २७६ क्विन्टल सोना मन्सुली चामल मौज्दात रहेको जनाएको छ। कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल ९ हजार २०० रुपैयाँ र सोना मन्सुली चामल प्रतिक्विन्टल ६ हजार २०० रुपैयाँका दरले बिक्री गरिरहेको शाखा प्रमुख तिम्सिनाले बताए।
कार्यालयका अनुसार हाल दैनिक १५ देखि २० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ। विपद्का समयमा आवश्यक पर्ने चामल पर्याप्त मौज्दातमा रहेको र यसबारे जिल्लाका सबै स्थानीय तहलाई जानकारी गराइसकिएको समेत शाखा प्रमुख तिम्सिनाले बताए।
प्रकाशित: ६ श्रावण २०८३ १४:११ बुधबार



-600x400.jpg)