अर्थ

तनहुँमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ। केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा ९ दशमलव ३० प्रतिशत चुहावट नियन्त्रण लक्ष्य रहेकामा ९ दशमलव ६३ प्रतिशत प्रगति हासिल भएको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए। यस्तै आर्थिक वर्ष २०८०/८१ मा सात दशमलव ९२ प्रतिशत चुहावट नियन्त्रण लक्ष्य राखिएकामा १२ दशमलव ९२ प्रतिशत प्रगति हासिल भएको उनले बताए। 

केन्द्रले तनहुँ, लमजुङ, कास्की, नवलपुर र स्याङ्जा जिल्लाका केही क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ। रेग्मीका अनुसार तनहुँको व्यास नगरपालिकाका १४ वटै वडा, भानु नगरपालिकाका ९, १०, ११ बाहेक १० वटा वडा, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकाका ५ बाहेक चार वटा वडा, म्याग्दे गाउँपालिकाका ५ बाहेक छ वटा वडाहरु, ऋषिङ गाउँपालिकाका ५ र ७ बाहेक पाँच वटा वडाहरु, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिका कार्यक्षेत्र हो। 

यस्तै नवलपुरको बौदीकालि गाउँपालकाका केही भाग, स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाका केही भाग, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ३ र ४, लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ यसको कार्यक्षेत्रभित्र पर्दछ।  

कार्यालयबाटै बढी महशुल सङ्कलन

कार्यालयले गत आर्थिक वर्षमा रु ६२ करोड ५१ लाख ७३ हजार तीन सय २३ विद्युत महशुल सङ्कलन गरेको छ। अनलाइन माध्यमभन्दा कार्यालय काउण्टरबाट बढी रकम सङ्कलन भएको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए। उनका अनुसार विभिन्न अनलाइन माध्यमबाट रु २३ करोड ४६ लाख २० हजार सात सय ६५ र कार्यालय काउण्टरबाट रु ३९ करोड पाँच लाख ५२ हजार पाँच सय ५८ सङ्कलन भएको छ।

अनलाइन माध्यमबाट महशुल बुझाउनेमा ५३ दशमलब ७३ प्रतिशत र कार्यालय काउण्टरबाट महशुल बुझाउनेमा ४६ दशमलब २७ प्रतिशत ग्राहक छन्। रासस

प्रकाशित: ७ कार्तिक २०८२ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App