अर्थ

लगानीमैत्री बजेट ल्याउन निजी क्षेत्रको माग

कोशी प्रदेशका उद्योगी व्यवसायीले लगानीमैत्री बजेट बनाउन सरकारसँग माग गरेका छन् । मंगलबार विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३-०८४ को बजेट थर्जुमाका लागि राजस्व परामर्श समितिको छलफलमा सहभाति उद्योगी व्यवसायीले लगानीमैत्री बजेट निर्माण गर्न माग गरेका हुन् ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले नेपाललाई शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनको हब बनाउने गरी बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए । घिमिरेले नेपालबाट उद्योगहरू विस्थापित हुने अवस्थामा पुगेका कारण उद्योगमैत्री बजेट निर्माण गर्न आग्रह गरे । उनले भने‘जग्गा कारोबारीका कारण उद्योगहरू विस्थापित हुने अवस्थामा पुगेका कारण उद्योगको संरक्षण र उद्योगमैत्री बजेट सरकारले ल्याउनुपर्छ ।’ 

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले सरकारको गलत कर नीतिका कारण सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहाकको भीड लाग्ने गरेको गुनासो गरे । उनले ‘सीमावर्ती भारतीय बजारमा भीडलाग्ने तर, नेपालको बजार शुन्य हुने अवस्था रहेका कारण नेपालको कर नीतिमा परिमार्जन गरी स्वदेशमै उपभोक्तालाई आकर्षित गर्ने वातावरण बनाउनु पर्छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विगतमा राजनीतिक अस्थिरताले आक्रान्त बनेको नीजि क्षेत्र दुई तिहाई बहुमत नजिकको सरकार बनेपछि आशावादी रहेको बताए । उनले जेन्जी आन्दोलनमा नीजि क्षेत्र निशानामा परेको भन्दै अब, त्यस्तो नहुने अवस्था सृजना गर्नुपर्ने धारणा राखे । ‘जेन्जी आन्दोलनमा नीति क्षेत्र निशानामा परेपछि नेपालको औद्योगित व्यवसायीक वातावरण विग्रीएको छ ’राउतले भने ‘ उद्योगी व्यवसायीको मनोवल घटेको छ ।’ राउतले पूँजीगत खर्च नबढी विकास निर्माण नहुने र विकास निर्माण नहुँदा बजार चलायमान पनि नहुने भएकाले पूँजीगत खर्च बढाउने तर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग खोल्ने र बन्द गर्ने नीति सहज बनाउन आग्रह गरे । उनले व्यक्तीगत आयकरको सीमा १५ लाख पु¥याउन र बजेटमा राखिएका प्रावधानहरू समयानुकुल सच्याउन मिल्नेगरी कानुनी व्यवस्था मिलाउन सुझाव दिए । राठीले बजेटमा गरिएका व्यवस्था परिवर्तन गर्न अर्को बजेट कुर्नुपर्ने अवस्थाले समस्या निम्त्याइरहेको दाबी गरे । अमेरिका–इजरायल र इरान बिच भइरहेको युद्धका कारण नेपालको प्लाष्टिक उद्योग कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेकाले सरकारको यस तर्फ कुटनीतिक पहल गरी समस्या समाधान गर्न उनले आग्रह गरे ।  

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उत्पादन बढाउने, निर्यात प्रबद्र्धन गर्ने र रोजगारी सृजना गर्ने नीतिगत व्यवस्था बजेटमार्फत गर्न सुझाव दिए । उद्योग, व्यवसाय सम्बन्धी नीति परिवर्तन गर्दा एक्कासी झड्का लाग्ने गरी नभई सरोकारवालाहरूसँग छलफल गरेर सुझवुझपूर्ण तरिकारले गर्न सरकारलाई आग्रह गरे । राठीले भने‘उद्योगहरू डरमा नभई कन्फिडेन्टमा चल्नुपर्छ ।’ उनले भारतीय बन्दर्गाहबाट मोरङको भेडियारी स्थित रेल स्टेसनसम्म सोझै रेलमार्गबाट  सामान आयात गर्ने व्यवस्था गर्न र कटहरी स्थित रेल स्टेशन चाँडो निर्माण गर्न सरकारसँग माग गरे ।  उनले सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेको औद्योगिक उत्पादनलाई संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी निर्माण गर्ने गरी आर्थिक वर्ष २०८३÷०८४ को बजेट ल्याउन सुझाव दिए ।  

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव तथा बजेट लेखनसमितिका संयोजक उत्तरकुमार खत्रीले राजस्व विभाग खारेज भयो भनेर गलत क्रियाकलाप नगर्न उद्योगी व्यवसायीलाई सचेत गराए । अर्थ सचिव घनश्याम उपाध्यायले उद्योगी व्यवसायीहरूले दिएका सुझावलाई सरकारसमक्ष पु¥याउने आश्वासन दिए । 

प्रकाशित: २४ चैत्र २०८२ १९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App