सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात र ढुवानी क्षेत्रका सवारीको भाडादर समायोजनको प्रक्रिया थालेको हो।
यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले भाडादर पुनरवलोकनका लागि विभागले आन्तरिक तयारी गरिरहेको नागरिकलाई जानकारी दिए।
'भाडादर बढाउन विभागले मात्र तयारी गरेर हुँदैन, मन्त्रालयको कन्सर्न लिन आवश्यक पर्छ।,' उनले भने, 'तर इन्धनको मूल्य नै बढेर आएकाले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने आन्तरिक तयारी थालेका छौं। यसबारेमा बिहीबारसम्ममा केही निश्कर्षमा पुग्नेछौं।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर समायोजन गर्न माग गरेका छन्।
हिजाेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजेल-मट्टीतेलमा १०-१० रुपैयाँ बढाएकाे छ। नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।
त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री भइरहेकाे छ।
प्रकाशित: ३ चैत्र २०८२ १९:५८ मंगलबार