अर्थ

सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान हुने

सुरुवाती चरणमा एकमहिनासम्म दैनिक उडान

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुने भएको छ। प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ।  

पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले एकमहिनाका लागि सेड्यूल फ्लाईटको अनुमति दिएको प्राधिकरणका प्रवक्ता भूलले जानकारी दिए। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।  

‘प्रारम्भिक चरणमा एकमहिनाका लागि उडान अनुमति लिएको छ। हरेक दिन पोखरा–दुबई रुटमा उडान गर्नेछ,’ भूलले भने, ‘पोखरालाई सिधै मध्यपूर्वको आकाशमा जोड्ने गरि हुने यो उडानले पर्यटन क्षेत्रमा विशेष अर्थ राख्नेछ।’ 

उनका अनुसार हरेक दिन बेलुकी सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ र पोखराबाट बेलुकी सवा ७ बजे दुबईका लागि उडान भर्नेछ। पोखरा– दुबइको यो उडानको समय करिब ५ घण्टा रहनेछ।  

फ्लाई दुबईले नै अहिले काठमाडौं–दुबई रुटमा सातामा तीनवटा उडान गरिरहेको छ। चारवटा उडानको तालिका स्वीकृत गराएपनि अहिले तीनवटा उडान भईरहेको छ। पोखरामा भने परीक्षणका रुपमा एकमहिनाका लागि दैनिक रुपमा उडान गर्नेगरि तालिका स्वीकृत गरेको पनि उनले बताए। ‘परीक्षणका रुपमा प्रवर्द्धनात्मक उडान हो। सातैदिन उडान हुनेछ। एकमहिनाको उडान रिपोर्ट पछि थप उडानका लागि तालिका तय हुनेछ,’ उनले भने, ‘अहिलेसम्म फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेको छैन। त्यसैले उडानको अवस्था, यात्रुको माग लगायतका अध्ययन गरेपछि अरु उडानका लागि प्रक्रिया अघि बढ्नेछ।’

एकमहिनाको नियमित उडान पछि बल्ल यात्रुको मार र भारक्षमताबारे वास्तविक अध्ययन हुने उनले बताए। ‘परीक्षणको रुपमा सुरुवाती उडान सकिएपछि एउटा रिर्पाेट तयार हुनेछ। त्यही रिपोर्टले थप उडान गर्ने की नगर्ने भन्नेमा यकिन हुनेछ,’ उनले भने। भूलका अनुसार सरकारले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल संचालन गर्ने क्रममा यूएईसँग हवाई सम्झौता भएको र त्यही सम्झौताको आधारमा अहिले उडान हुने थालेको हो।  

‘हाम्रो लक्ष्य पोखरालाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने हो। दुबई पनि पर्यटकीय हव हो। दुबईमा रोजगारी मात्र नभई पर्यटकीय हिसाबले घुमघामको उद्देश्यले ठूलो आकारमा नेपाली पर्यटक जान्छन,’ भूलले भने, ‘दुईवटा पर्यटकीय गन्तव्यलाई जोड्न सकियो भने त्यसले नेपालको पर्यटनमा निकै नै फड्को मार्नेछ।’

 पोखरा आउने यो जहाज सिमराबाट नेपाल भित्रिनेछ। काठमाडौंमा भन्दा पोखरा पुगिसक्दा थप ३५ मिनेट बढि समय उडान गर्नुपर्नेछ।  पोखरामा उडान गर्नका लागि यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पटकपटक अवलोकन र अध्ययन पनि गरिसकेको छ। अहिले पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भईरहेको छ।

हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय नै पहिलो एयरलाइन्स हो। तर, त्यो बाहेक सिचुआन एयरलाइन्सल चीनको छेन्दु–पोखरा चार्टर उडान गरेको थियो। २०२५ को मार्चखेखि सुरु भएको हिमालयको पोखरा–ल्हासा नियमित उडान भने २०२६ मार्च २३ देखि रोकिएको छ।  

‘अहिले कुनैपनि नियमित अन्तर्राष्ट्रिय उडान छैनन्। हिमालयको उडान रोकिएपछि तत्कालका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलको अन्तर्राष्ट्रिय सञ्जाल रोकिएको छ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले भने, ‘अब पोखरा–दुबई हुँदा पोखराको पहुँच मध्यपूर्वको आकाशसम्म पुग्नेछ। पोखरासँग मध्यपूर्व जोडिएमा त्यसले पोखराको पर्यटन क्षेत्रमा निकै नै फड्को मार्नेछ।’

पोखराबाट भारत र भुटानका गन्तव्यसम्म पनि जोड्ने प्रयास भएपनि त्यसले गति भने लिन सकेको छैन। ‘अहिले नै तत्कालका लागि अरु गन्तव्यसम्म उडानका लागि पहल छैन। पछिल्लो प्रयास सफल भएको खण्डमा यसले सकारात्मक सन्देश प्रवाह हुनेछ,’ उनले भने, ‘पोखरालाई मध्यपूर्वसम्म जोड्न सकेको खण्डमा त्यसले पोखराको पर्यटन क्षेत्रलाई उत्तिकै लाभ दिनेछ।’ पोखराको पर्यटन क्षेत्रलाई उकास्नका लागि पोखरा–दुबई उडान निकै नै प्रभावकारी हुने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाई दुबईको उडानले पोखरालाई कम्तिमा २ सय ५० नयाँ गन्तव्यमा सिधा जोड्न सकिने बताउँछन। उनका अनुसार मध्यपूर्वदेखि अमेरिका, यूरोपका धेरै वटा गन्तव्यका पाहुनालाई दुबई हुँदै सिधै पोखरा ल्याउन सकिनेछ। यसले पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनले बताए। 

‘यो उडान संचालन गराउनका लागि निकै नै मेहनत गरेका छौ। यसलाई सफल बनाउन सकियो भने नेपालको पर्यटनले फड्को मार्नेछ। नेपालको हवाई पहुँच निकै नै टाढासम्म पुग्नेछ,’ उनले भने, ‘पोखरालाई सिधै मध्यपूर्वसँग जोड्न पाउनु नै पोखराका लागि गौरवको कुरा हुनेछ।’

यो उडान सफल बनाउन सबै व्यवासायी र सरकार लागि पर्नुपर्ने उनले बताए। ‘हामीलाई चाहिएको पर्यटक हो। अहिले काठमाडौं हुँदै भित्रिने पाहुनालाई सिधै पोखरा झार्न सकियो भने पर्याप्त लाभ लिन सकिन्छ,’ उनले भने।

पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछाने पनि दुबई संसारकै हब बनिसकेकोले पोखरालाई जोड्न सकेमा पोखराको पहुँच निकै नै परसम्म पुग्ने बताउँछन्। ‘दुबई भनेको संसारको हब हो। मध्यपूर्वलाई पोखरासँग हवाई माध्यमले जोडिनु भनेको पोखराको पहुँच अन्तर्राष्ट्रिय स्थरमा अझै बढ्नेछ,’ उनले भने, ‘विश्वव्यापी रुपमा पोखराको पहुँच बिस्तार हुनेछ।’

पोखरा र दुबई हवाई सञ्जालमार्फत जोडिन सकेमा अमेरिका र यूरोपका मुलुकका पाहुना समेत सोझै पोखरा भित्र्याउन सकिने उनले बताए। ‘दुबई त विश्वव्यापी सञ्जाल हो। नेपाली पनि ठूलै आकारमा दुबईसम्म घुम्न जान्छन। दुबईसँग हवाई सञ्जाल बिस्तार हुनु भनेको पोखराको पहुँच सिधै पर्यटकीय श्रोतबजारसम्म पुग्नु हो,’ उनले भने।

प्रकाशित: २६ जेष्ठ २०८३ १७:०६ मंगलबार

पोखरा–दुबई सिधा उडान फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमास्थल