इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको खरिद मूल्यमा भारी वृद्धि गरेर पठाएको छ।
तर, नेपाल आयल निगमले उपभोक्तालाई तत्काल थप मार नपार्ने नीति लिँदै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको खुद्रा मूल्य भने यथावत् राखेको छ।
भारतबाट प्राप्त नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४१.६० रुपैयाँ र डिजेल ९४.९३ रुपैयाँले बढेर आएको छ। त्यसैगरी, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १९०.३६ रुपैयाँले महँगिएर आएको छ।
हालको मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ४७.१२ रुपैयाँ, डिजेलमा १३३.४५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा छ।
पछिल्लो १५ दिनमै निगमले ५ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। बढेको खरिद दरअनुसार नेपालमा मूल्य समायोजन नगर्दा अबको १५ दिनमा १३ अर्ब २१ करोड रुपैयाँ नोक्सान हुने निगमले बताएको छ।
सर्वसाधारणको हितलाई ध्यानमा राख्दै निगमले मूल्य स्थिरीकरण कोषको रकम उपयोग गरेर तत्काललाई दैनिक उपभोग्य इन्धनको मूल्य स्थिर राखेको हो।
प्रकाशित: १७ चैत्र २०८२ २२:१७ मंगलबार



