नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने बक्यौता रकम थपिँदै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। बढेको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ, डिजेल ५४ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँले बढेर आएको थियो।
तर, सार्वजनिक यातायात, ढुवानी र सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पर्ने भएकाले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी पेट्रोल र डिजेलमा कम मात्र मूल्य बढाइएको निगमले जनाएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत् राखिएको छ।
निगमका नुसार मध्यपूर्व र युरोप (रुस-युक्रेन) मा देखिएको युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेको हो।
विगतमा घाटा खाएर तेल बेच्दा आईओसीलाई बुझाउनुपर्ने बक्यौता २४ अर्ब पुगेको र सरकारबाट ७ अर्ब ऋण तथा जग्गा धितो राखेर ३ अर्ब ऋण लिँदा समेत बक्यौता तिर्न नसकिएकाले आपूर्ति प्रणाली नै प्रभावित हुने जोखिम बढेको निगमको भनाइ छ।
बाध्यतावश मूल्य बढाउनुपरेको प्रस्टीकरण दिँदै निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए तत्काल नेपालमा पनि मूल्य घटाइने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: १ चैत्र २०८२ २१:४७ आइतबार



