पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ काठमाडौंमा नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, युवा स्वरोजगार, हरित वित्त, डिजिटल सेवा विस्तार र सुशासनलाई प्राथमिकतामा राख्दै लघुवित्त क्षेत्रको सुधार र विस्तारमा केन्द्रित प्रतिबद्धता व्यक्त गरेको छ।
घोषणापत्रको पहिलो बुँदामा युवालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्य लिइएको छ। यसका लागि ‘पढ्दै कमाउँदै’ जस्ता कार्यक्रम, सीपमूलक तालिम र नवप्रवर्तन प्रवद्र्धन गर्ने उल्लेख छ। दोस्रो बुँदामा सेवाग्राहीसँगको व्यवहारलाई पारदर्शी, मर्यादित र सदस्य–केन्द्रित बनाउने प्रतिवद्धता जनाइएको छ।
तेस्रो र चौथो बुँदामा हरित वित्त र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिँदै प्रत्येक संस्थाले कम्तीमा एक वातावरणमैत्री गाउँ निर्माणमा योगदान गर्ने लक्ष्य राखिएको छ। पाँचौं बुँदामा डिजिटल प्रविधिमार्फत सेवा सहज र पहुँचयोग्य बनाउने तथा सदस्यहरूमा डिजिटल साक्षरता बढाउने उल्लेख छ।
त्यसैगरी, प्रभाव मूल्यांकन, निष्क्रिय सदस्य सक्रियता, वित्तीय साक्षरता अभिवृद्धि र भ्रमपूर्ण गतिविधि नियन्त्रणमा जोड दिइएको छ। विपन्न महिलाहरूको पहुँचमा अवरोध सिर्जना गर्ने गतिविधि रोक्न समुदायस्तरमा सचेतना फैलाउने विषय पनि घोषणापत्रमा समेटिएको छ। अन्तिम बुँदामा लघुवित्त क्षेत्रका समस्या समाधानका लागि संस्थाहरू, सदस्य र नियामक निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख छ।
सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, सदस्य र सरोकारवालाहरूले घोषणापत्र कार्यान्वयनमा विशेष जोड दिएका थिए। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले लघुवित्तले विपन्न वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको सकारात्मक प्रभावलाई निरन्तरता दिनुपर्ने बताए। उनले व्यावसायिक बैंकहरू नाफामुखी भएकाले ग्रामीण तथा विपन्न वर्गसम्म पुग्न नसक्ने हुँदा लघुवित्तको आवश्यकता अझै महत्वपूर्ण रहेको धारणा राखे।
अर्का पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले लघुवित्त क्षेत्रमा बढ्दो निष्क्रिय कर्जालाई चुनौतीका रूपमा औंल्याए। उनले संस्थाहरूले बाह्य सहयोगमा निर्भर नभई आन्तरिक सुधार, सुशासन र प्रविधिको प्रयोगमार्फत सुदृढ बन्नुपर्नेमा जोड दिए। साथै, लघुवित्तले केवल ऋण प्रवाहमा सीमित नभई उद्यमशीलता विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
आयोजक समिति अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तलाई ‘मुटुदेखि मुटुसम्म जोडिने प्रणाली’ का रूपमा बुझ्नुपर्ने बताउँदै सही अभ्यास अपनाए जोखिम न्यून हुने धारणा राखे। उनले ‘थ्री जीरो’ अवधारणाअन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनका लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे।
सदस्य सचिव बेचन गिरिले सम्मेलनले लघुवित्तलाई वित्तीय सेवाभन्दा माथि उठाएर सामाजिक सशक्तिकरणको अभियानका रूपमा स्थापित गरेको बताए। सम्मेलनमा उत्कृष्ट कर्मचारी र संस्थालाई सम्मानसमेत गरिएको थियो।
प्रकाशित: ९ चैत्र २०८२ २१:०६ सोमबार



