अर्थ

मदन भण्डारी राजमार्ग विस्तारका लागि १३ हजार रुख काटिए

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग विस्तारका लागि सडक सीमाभित्र पर्ने १३ हजार ८३४ वटा रुख कटानको कार्य सम्पन्न भएको छ।

राजमार्ग योजना कार्यालय दमकका अनुसार सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वन क्षेत्रका रुखहरू हटाइएको हो।

सडकको भोगाधिकारका लागि माग गरिएको कुल ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख काटिसकिएको योजना कार्यालयकी इन्जिनियर स्वस्तिका भट्टराईले जानकारी दिए।

सबैभन्दा बढी सुनसरी जिल्लामा ५ हजार ५०० रुख काटिएका छन्। यस्तै, इलाममा ३ हजार ३६६, झापामा २ हजार ८०५ र मोरङमा २ हजार १६३ रुख कटान गरिएको छ।

सडक रेखाङ्कनभित्रका रुख काटिएसँगै हाल तिनको घाटगद्दी र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको इन्जिनियर भट्टराईले सुनाए।

मोरङ जिल्लामा नम्बरिङको काम पूरा भए पनि सम्बन्धित डिभिजन वन कार्यालयलाई बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ।

हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ।

प्रकाशित: २६ चैत्र २०८२ २१:४४ बिहीबार