भारतले नेपालतर्फ विद्युत् आपूर्ति अवधि पुनः विस्तार गर्दै आगामी १५ दिनसम्म चौबिसै घण्टा बिजुली पठाउन अनुमति दिएको छ। यससँगै नेपालले तत्कालका लागि ऊर्जा आपूर्तिमा सहजता पाउने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अप्रिल १ देखि लागू हुने गरी १५ दिनसम्म २४ घण्टा विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो। यसअघि पनि मार्च अन्त्यसम्म समान व्यवस्था लागू गरिएको थियो।
त्यसपछिको अवधिमा भने आपूर्तिको ढाँचा परिवर्तन हुने छ। अप्रिल १६ देखि ३० सम्म दैनिक १६ घण्टा मात्रै विद्युत् उपलब्ध हुनेछ। सो समयमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म आपूर्ति हुने र राति ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहने व्यवस्था गरिएको छ।
त्यस्तै, मे र जुन महिनामा पनि दैनिक १६ घण्टाकै आपूर्ति जारी रहनेछ, तर समय तालिका परिवर्तन गरी बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् उपलब्ध गराइनेछ।
शाक्यका अनुसार यो व्यवस्थाले नेपालभित्रको विद्युत् माग धान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, जुलाई र अगस्ट महिनामा पुनः चौबिसै घण्टा ६०० मेगावाटसम्म विद्युत् उपलब्ध गराउने अनुमति भारतले दिएको छ।
नेपालले भारतीय पावर एक्सचेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट अधिकतम ६०० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित: १६ चैत्र २०८२ २०:१६ सोमबार