अर्थ

विराटनगरमा घर निर्माण प्रदर्शनी सुरु

प्रदर्शनी स्थलको अवलोकन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की। तस्बिर: चुमन बस्नेत / नागरिक

विराटनगरस्थित जैन भवनमा घर निर्माण सम्बन्धी प्रदर्शनी २०८२ बिहीबारदेखि सुरु भएको छ। यो प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले दुई तिहाइ नजिकको बहुमतसहित सरकार गठन हुने बताउँदै, धेरै वर्षको बहुमतको अभाव हटेको उल्लेख गरे। उनले भने, “अब नेपालीहरूका सुखका दिन आउने अपेक्षा गरिएको छ।”

मुख्यमन्त्री कार्कीले विराटनगरका उद्योगी व्यवसायीहरूले लामो समयदेखि औद्योगिक प्रदर्शनीस्थल निर्माणको माग गर्दै आएका भए पनि जग्गा अभावका कारण यो सम्भव नहुने बताउँदै, निजी क्षेत्रसँग जग्गा प्राप्तिको अधिकार नभएको कारण प्रदेश सरकारले आवश्यक संरचना निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, योजनाबद्ध रुपमा विकास खर्च बढाउने तयारी रहेको जानकारी पनि दिए।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले बन्ने सरकारले निजी क्षेत्रको मनोबल उकास्ने आर्थिक नीति ल्याउनुपर्ने धारणा राखे। नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा ले उद्योगमात्रै रोजगारी, राजस्व र विकास सम्भव हुने भएकाले नयाँ उद्योग खोल्न र पुराना उद्योग फस्टाउने वातावरण सरकारले बनाउनुपर्ने बताए। उनले मोरङका उद्योगीहरूले औद्योगिक प्रदर्शनीस्थल र औद्योगिक करिडोर निर्माणको माग गर्दै आएको तर सरकारले अहिलेसम्म वेवास्ता गरेको गुनासो गरे।

यस प्रदर्शनीमा ७५ भन्दा बढी स्टल छन्। डिजाइन तथा प्लानिङ अन्तर्गत वास्तुकला, संरचनात्मक इन्जिनियरिङ, निर्माण सामग्री अन्तर्गत सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, सेफ्टी सामग्री जस्ता उत्पादन र सेवाहरू प्रदर्शित छन्। फर्निचर तथा फिक्स्चर अन्तर्गत मोड्युलर किचन, वार्डरोब, ढोका, झ्याल, हार्डवेयर, पर्दा र कपडा लगायतका सामग्री पनि राखिएका छन्।

त्यसैगरी, निर्माण सेवा, बैंक र बीमा कम्पनीहरूले प्रदान गर्ने वित्तीय तथा बीमा सेवाहरू पनि प्रदर्शनीमा समेटिएको छ।

प्रकाशित: १२ चैत्र २०८२ १९:५० बिहीबार