भोटेकोसीको बाढीले ठुलो मानवीय र भौतिक क्षति गरेको खबरले मानसी साहु चिन्तित थिइन्। यस्तो विपत्तिका बेला आफ्नो विद्यालयको खाजा खर्च कटाएर भए पनि सानो सहयोग गर्ने उनको सोच बन्यो।
उनी अध्ययनरत विद्यालय नेपालगन्जस्थित सिद्धार्थ विद्या सदनले पनि बाढी पीडितका लागि सहयोग अभियान चलायो।
उक्त अभियानमा सक्रियतापूर्वक सहभागिता जनाएर कक्षा ९ की छात्रा मानसीले पनि दुई हजार रुपैयाँ सहयोग गरिन्। उनीसँगै विद्यालयका थुप्रै विद्यार्थीहरुले पनि स्वतःस्फूर्त रूपमा सहयोग रकम उठाए।
विद्यालयका प्रिन्सिपल प्रवीण गिरीका अनुसार विद्यार्थीले मात्रै आफ्नो खाजा खर्च कटाएर स्वतःस्फूर्त रूपमा १८ हजार रुपैयाँ बराबर सहयोग रकम उठाएका थिए।
विद्यार्थीसँगै शिक्षक, कर्मचारी तथा विद्यालय सञ्चालक लगायत सबैबाट गरेर विद्यालयमा कुल एक लाख २ हजार ६ सय ५७ रुपैयाँ उठ्यो। उक्त रकमलाई विद्यालयले आफ्नो छाता संगठन प्याब्सन बाँकेलाई हस्तान्तरण गर्यो।
‘सुरुमा हामीले विद्यालय र कर्मचारीले मात्रै सहयोग गर्न खोजेका थियौँ, तर विद्यार्थीहरुले पनि स्वतःस्फूर्त रूपमा इच्छा देखाए,’ प्रिन्सिपल गिरीले भने, ‘भोटेकोसी बाढीको अवस्था देखेर हाम्रा विद्यार्थीहरुले पनि पीडा महसुस गरेका छन्।’
बाढीपछि यहाँका विद्यालयले पीडित परिवारका लागि सहयोग संकलन अभियान चलाएका छन्। विद्यालयले सांस्कृतिक कार्यक्रम, प्रतियोगिता जस्ता औपचारिक कार्यक्रमहरू स्थगित गरेका छन्।
उक्त अभियानमा जिल्लाभर रहेका ७७ वटा निजी तथा आवासीय विद्यालयका हजारौँ विद्यार्थीसँगै शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक जोडिएका छन्।
यसरी बाँकेका विद्यालयहरूले ६५ लाख रुपैयाँ बराबरको रकम बाढी पीडितलाई सहयोग गरेका छन्।
प्याब्सन बाँकेका जिल्ला अध्यक्ष विकास बज्राचार्यका अनुसार भोटेकोसी बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि अधिकांश विद्यालयबाट स्वतःस्फूर्त रूपमा उक्त रकम उठेको हो।
जिल्लाका विभिन्न विद्यालयले प्याब्सन बाँकेलाई ५३ लाख ४१ हजार ४ सय ६ रुपैयाँ हस्तान्तरण गरेको र केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गरेको अध्यक्ष बज्राचार्यले बताए।
‘हामीलाई प्याब्सन केन्द्रबाट परिपत्र नआउँदै केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतःस्फूर्त रूपमा रकम जम्मा गरिसक्नु भएको छ। केन्द्रबाट परिपत्र आइसकेपछि हामीले विद्यालयहरुलाई जानकारी गराएपछि संस्थागत रूपमा बाढी पीडितका लागि सहयोग रकम प्राप्त भएको हो,’उनले भने।
बाढी पीडितका लागि प्याब्सन बाँकेमा आबद्ध सबै विद्यालयहरूबाट उठेको कुल रकम ६५ लाख बराबर रहेको अध्यक्ष बज्राचार्यले सुनाए।
जिल्लाबाट हस्तान्तरण भएको रकम प्याब्सन केन्द्रीय समितिको खातामा जम्मा गरेर केन्द्रले देशभरबाट प्राप्त रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा. राजेश केशर खनाल बताउँछन्।
‘देशमा परेको महाविपद्को यो समयमा प्याब्सन पनि सरकारको साथमा रहेको छ,’उनले भने।
प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले भोटेकोसी बाढीले निम्त्याएको विपदमा सबै संवेदनशील रहेको बताए। विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेको उनले बताए।
प्याब्सन केन्द्रीय समितिले देशभरबाट संकलन गरेर १० करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने बाचा गरेको प्याब्सन पदाधिकारी बताउँछन्।
प्रकाशित: २५ भाद्र २०८३ १८:४५ बिहीबार