अर्थ

बाढीपीडितको राहतका लागि गोल्छा परिवारको १ करोड ११ लाख सहयोग

देशका विभिन्न भागमा आएको भीषण बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मुलुकमा आइपरेको विपद्‌को घडीमा ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको हो।

सोमबार हस्तान्तरण गरिएको उक्त सहयोग रकम प्राकृतिक विपद्‌बाट प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपत्कालीन खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा उपयोग हुने जनाइएको छ।

बाढीपहिरोका कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति सहानुभूति प्रकट गर्दै ट्रष्टले संकटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्‍याएको छ।

देशमा पर्ने हरेक संकटका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकको साथमा रहने परम्परालाई यसपटक पनि निरन्तरता दिइएको ट्रष्टले बताएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १८:४१ मंगलबार