ग्यासको माग उच्च भएसँगै आपूर्ति सहज बनाउन नेपाल आयल निगमले केही दिनअघि आधा परिमाण (७.१ केजी) ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने निर्णय गरेको थियो। निगमको निर्णयअनुसार ग्यास उद्योगहरूले पनि आधा सिलिन्डर ग्यास भरेर वितरण सुरु गरेका छन्। तर, उक्त व्यवस्था लागू भए पनि बजारमा अझै ग्यास अभाव कायमै रहेको छ।
उद्योगीहरूका अनुसार एक सातादेखि आधा सिलिन्डरको दरले ग्यास बजारमा पठाइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यासका खाली सिलिन्डर बोकेर उपभोक्ता विभिन्न स्थानमा धाइरहेको दृश्य देखिन्छ भने ग्यास पाइने पसलहरूमा भीड लाग्ने गरेको छ।
गृहलक्ष्मी ग्यास उद्योगका महाप्रबन्धक भीमराम लामिछानेका अनुसार आधा सिलिन्डर वितरण गर्दा पनि समस्या समाधान हुन सकेको छैन। “हामीले आधा सिलिन्डरको दरले ग्यास बजारमा पठाइरहेका छौं, तर बजारमा अभाव घटेको देखिँदैन,” उनले भने, “उपभोक्तालाई सहज बनाउन गरिएको प्रयास प्रभावकारी हुन सकेको छैन।”
उनका अनुसार ग्यास अभाव हुनुमा पहुँच भएका उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्नु प्रमुख कारण हो। “केही उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गरिरहेका छन्। यसले अन्य उपभोक्तालाई समस्या परेको छ,” उनले भने।
आधा सिलिन्डर प्रणाली लागू गर्दा उत्पादनको संख्या बढे पनि ढुवानी र जनशक्तिको सीमितताका कारण वितरणमा समस्या भइरहेको व्यवसायीहरू बताउँछन्।
“आधा सिलिन्डर गर्दा ग्यास पुग्छ, तर ढुवानीका साधन र जनशक्ति उस्तै भएकाले सिलिन्डर संख्या बढे पनि वितरण सहज हुन सकेको छैन,” उनले बताए।
एलपी ग्यास विक्रेता संघ कास्कीका अध्यक्ष नारायण दाहालले पनि आधा सिलिन्डर वितरणले समस्या समाधान नभएको बताए। “पहुँच भएका उपभोक्ताले एकै घरमा ५–६ वटा सिलिन्डर राखेका छन्। त्यसैले कमजोर वर्ग थप समस्यामा परेको छ,” उनले भने।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण ग्यास अभाव हुने हल्ला फैलिएसँगै उपभोक्ताले ग्यास थुपार्न थालेको व्यवसायीहरूको भनाइ छ। “पहिले प्रयोगमा नआएका सिलिन्डरहरू पनि अहिले बजारमा ल्याइएका छन्,” दाहालले भने, “मूल्य बढ्ने डरले उपभोक्ताले अग्रिम तयारीस्वरूप ग्यास सञ्चय गरेका छन्।”
व्यवसायीहरूका अनुसार प्रशासनको निगरानी र उपभोक्ताको सचेतनासँगै केही सुधार देखिए पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन। विशेष गरी विद्यार्थी र मजदुर वर्ग सबैभन्दा बढी मारमा परेका छन्।
हालको आपूर्ति निरन्तर रहेमा आगामी एक साताभित्र बजारमा ग्यास सहज हुन सक्ने अनुमान व्यवसायीहरूले गरेका छन्। पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ती ग्यास कम्पनीहरूले आफ्नै प्लान्टमार्फत ग्यास भरेर वितरण गरिरहेका छन् भने अन्य कम्पनीहरूले पनि ग्यास बिक्री गरिरहेका छन्। पोखरामा कुल १७ वटा कम्पनीले ग्यास वितरण गर्दै आएका छन्।
जाडो याममा मासिक करिब डेढ लाख र गर्मी याममा करिब १ लाख ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। पर्यटकीय क्षेत्र लेकसाइडमा ग्यासको खपत सबैभन्दा बढी हुने गरेको छ।
प्रकाशित: ८ चैत्र २०८२ १८:४३ आइतबार