अर्थ

विश्व बजारमा खाद्य वस्तुको मूल्य सन् २०२२ यताकै उच्च

विश्व बजारमा खाद्य वस्तुको मूल्य पुनः उकालो लागेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार अगस्टमा खाद्य मूल्य सूचकांक १३३.३ अंक पुगेको छ। यो जुलाईको तुलनामा १.९ प्रतिशत र एक वर्षअघिको तुलनामा २.५ प्रतिशत बढी हो। यो सन् २०२२ को अन्त्ययताकै उच्च स्तर हो।

एफएओका अनुसार खाद्य मूल्यमा भएको वृद्धि पाँचवटै प्रमुख वस्तु समूहमा देखिएको छ। चरम मौसम, भूराजनीतिक तनाव तथा व्यापार र ढुवानी प्रणालीमा देखिएका अवरोधका कारण विश्वका प्रमुख कृषि उत्पादनको आपूर्ति जोखिम बढ्दै गएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले पनि मौसमजन्य जोखिमका कारण खाद्य मूल्य पुनः बढ्न थालेको बताएका छन्। उनका अनुसार अगस्टमा विश्व खाद्य मूल्य सूचकांक बढ्नुमा उच्च तापक्रमसहितका प्रतिकूल मौसमजन्य जोखिमले खाद्य आपूर्तिप्रति बढाएको चिन्ता प्रमुख कारण हो।

चिनीको मूल्यमा सबैभन्दा ठूलो वृद्धि

एफएओको तथ्यांकअनुसार अगस्टमा चिनीको मूल्य सूचकांक सबैभन्दा धेरै बढेको छ। एक महिनामा चिनीको मूल्य ११.९ प्रतिशत बढ्दै सन् २०२५ को जुनयताकै उच्च स्तरमा पुगेको हो।

सन् २०२६/२७ को उत्पादन मौसममा विश्वव्यापी चिनी आपूर्तिबारे बढेको चिन्ताका कारण मूल्यमा वृद्धि भएको एफएओले जनाएको छ। युरोपेली संघ र एसियाका केही क्षेत्रमा देखिएको अत्यधिक गर्मी तथा सुख्खा, ब्राजिलमा चिनी उत्पादन घट्ने सम्भावना र भारतले शुल्करहित कच्चा चिनी आयात गर्न दिने निर्णयले पनि मूल्य वृद्धिमा योगदान गरेको छ।

गहुँ र मकैको मूल्य पनि उकालो

अगस्टमा अन्नबालीको मूल्य सूचकांक २.२ प्रतिशतले बढेर सन् २०२४ को मेयताकै उच्च स्तरमा पुगेको छ।

गहुँको मूल्य २.६ प्रतिशत बढेको छ। कृष्णसागर क्षेत्रबाट हुने निर्यात तथा ढुवानीमा जारी अवरोध, युरोपका केही क्षेत्रमा गर्मी र सुख्खाका कारण उत्पादन घट्ने अनुमान तथा अमेरिकी डलर कमजोर हुनु गहुँको मूल्य वृद्धिका प्रमुख कारण बनेका छन्।

त्यस्तै, मकैको मूल्य २.५ प्रतिशत बढेको छ। अमेरिका र युरोपेली संघका केही क्षेत्रमा उत्पादन घट्ने चिन्ता, इथानोल तथा पशु आहार उद्योगबाट आएको बलियो माग र युक्रेनबाट हुने निर्यातमा देखिएको अवरोधले मकैको मूल्य बढाएको एफएओले जनाएको छ।

वनस्पति तेलको मूल्य सूचकांक पनि ०.६ प्रतिशतले बढेको छ। यो लगातार तेस्रो महिनाको वृद्धि हो। वनस्पति तेलको मूल्य सन् २०२२ को जुनयताकै उच्च स्तरमा पुगेको छ।

यसैगरी, मासुको मूल्य १ प्रतिशत र दुग्धजन्य पदार्थको मूल्य २.३ प्रतिशतले बढेको छ। दुग्धजन्य पदार्थको मूल्य चार महिनापछि पहिलोपटक वृद्धि भएको हो।

उत्पादन उच्च रहे पनि जोखिम कायमै

खाद्य वस्तुको मूल्य बढे पनि अगस्टको एफएओ खाद्य मूल्य सूचकांक सन् २०२२ को मार्चमा कायम भएको कीर्तिमानी स्तरभन्दा अझै १६.८ प्रतिशत कम छ।

एफएओले सन् २०२६ को विश्वव्यापी अन्न उत्पादनको अनुमान जुलाईको तुलनामा ३४ लाख टनले घटाएको छ। यद्यपि कुल उत्पादन भने ऐतिहासिक रूपमा उच्च रहने अनुमान गरिएको छ।

एफएओका अनुसार सन् २०२६ मा विश्वको अन्न उत्पादन करिब २.९८ अर्ब मेट्रिक टन पुग्ने अनुमान छ। यो अहिलेसम्मकै दोस्रो ठूलो उत्पादन भए पनि गत वर्षको तुलनामा करिब २ प्रतिशत कम हो।

सन् २०२६/२७ को अन्त्यसम्म विश्वव्यापी अन्न मौज्दात ९४७.२० मिलियन टन पुग्ने प्रक्षेपण गरिएको छ। यो यसअघिको अनुमानभन्दा १.१ प्रतिशत कम हो।

जलवायु परिवर्तनजन्य जोखिम, क्षेत्रीय द्वन्द्व तथा व्यापार र ढुवानीमा देखिएका अवरोधका कारण विश्व खाद्य बजारमा अनिश्चितता बढ्दै गएको एफएओले जनाएको छ।

विश्वव्यापी कृषि उत्पादन उच्च रहने अनुमान भए पनि आपूर्ति शृंखलामा आउने अवरोध, प्रतिकूल मौसम र भूराजनीतिक तनावले आगामी दिनमा खाद्य वस्तुको मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ।

प्रकाशित: २० भाद्र २०८३ १७:५९ शनिबार