सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल दर्ता गर्नेको संख्या छोटो समयमै उल्लेख्य रूपमा बढेको छ।
साउनको पहिलो १५ दिनमा उपहार योजनाका लागि ७ हजार ७७ वटा बिल दर्ता भएकोमा दोस्रो १५ दिनमा यो संख्या बढेर ३ लाख ५७ हजार १४४ पुगेको हो। दोस्रो चरणको सहभागिता पहिलो चरणको तुलनामा करिब ५० गुणा बढी हो।
साउन १६ देखि ३१ गतेसम्म मात्रै नगद कारोबारका ३ लाख ५७ हजारभन्दा बढी बिल उपहार योजनामा सहभागी गराउन डिजिटल माध्यमबाट अपलोड गरिएको विवरण सार्वजनिक भएको छ।
कार्यक्रममा नगद कारोबारका बिलसँगै क्यूआर र अनलाइन बैंकिङमार्फत भएका कारोबारबाट स्वतः सहभागी हुने उपभोक्ताको संख्या पनि बढेको बताइएको छ। यसले बिल लिने बानीसँगै डिजिटल भुक्तानीप्रतिको आकर्षणसमेत बढ्दै गएको संकेत गरेको छ।
आन्तरिक राजस्व विभागले दोस्रो चरणका विजेतासमेत सार्वजनिक गरिसकेको छ। दोस्रो चरणमा एक जना बम्पर विजेतासहित १७ जना छनोट भएका छन्। पहिलो चरणमा भने एक जना बम्पर विजेतासहित १४ जना विजेता घोषणा गरिएको थियो।
सरकारले उपभोक्तालाई प्रत्येक कारोबारमा बिल लिन र त्यसलाई डिजिटल प्रणालीमार्फत दर्ता गर्न प्रोत्साहित गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो। पछिल्लो तथ्यांकले कार्यक्रमप्रति उपभोक्ताको चासो तीव्र रूपमा बढ्दै गएको देखाएको छ।
प्रकाशित: २ भाद्र २०८३ १७:२३ मंगलबार



