अर्थ

आर्थिक प्रगति कमजोर : भरतपुर महानगरको खर्च ३७ प्रतिशतमा सीमित

चितवनको भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको आठ महिनामा ३७ दशमलव १८ प्रतिशत मात्र आर्थिक प्रगति भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म आइपुग्दा सो रकम खर्च भएको हो।

आज (बिहीबार) भरतपुरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलले कुल बजेटमध्ये १ अर्ब ९३ करोड २३ लाख ६ हजार रुपैयाँ खर्च भएको जानकारी दिए। महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको थियो।

चालु तर्फ महानगरले २ अर्ब ५८ करोड ८७ लाख ४७ हजार ८ सय ८१ रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब २७ करोड ३७ लाख २१ हजार १ सय २८ रुपैयाँ खर्च भएको छ, जुन चालु बजेटको ४९ दशमलव २ प्रतिशत हो।

पूँजीगत तर्फ २ अर्ब ६० करोड ७७ लाख ६८ हजार १ सय १९ रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ६५ करोड ८५ लाख ८५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल पूँजीगत बजेटको २५ दशमलव २५ प्रतिशत प्रगति हो।

महानगरपालिकाले यस अवधिमा १९ करोड ६२ लाख ५० हजार ५ सय २७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ। उक्त अवधिमा ४८ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो।

गौरवका आयोजनाहरूमा समेत सन्तोषजनक प्रगति हुन सकेको छैन। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगति ४५ प्रतिशत मात्र पुगेको छ। प्रदेश सरकारबाट बजेट निकासा ढिलो हुँदा काममा केही ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत भारतीलले जानकारी दिए। रंगशाला निर्माणमा हालसम्म ३४ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ।

यस्तै, ३ करोड ७० लाख लागतको पुँघीखोला सौन्दर्यीकरण आयोजनामा ३० प्रतिशत मात्र वित्तीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ।

भरतपुर महानगरपालिका वडा नम्बर १६, १७ र २८ मा १ हजार ५ सय मिटर फाउन्डेसनसहित मेसिनरी संरचना निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ७ सय मिटर मात्र सम्पन्न भएको छ।

४ सय १८ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना रहेकामा हालसम्म २५० वटा मात्र जडान गरिएको छ भने बाँकी स्थानमा तीव्र रूपमा काम भइरहेको बताइएको छ।

महानगरपालिकाले यस वर्ष विभिन्न सडकहरूमा १३ दशमलव १२ किलोमिटर सडक मर्मत सम्पन्न गरेको छ।

प्रकाशित: १२ चैत्र २०८२ १९:१४ बिहीबार