विश्वका बहुपक्षीय विकास बैंकले गत वर्ष जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनाका लागि अहिलेसम्मकै सबैभन्दा धेरै १६२.५ अर्ब अमेरिकी डलर वित्तीय सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
युरोपेली संघसँग आबद्ध युरोपेली लगानी बैंक (इआइबी) ले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो। तर विश्व बैंकले गत महिना केही महत्वपूर्ण जलवायु लक्ष्यबाट पछि हट्ने निर्णय गरेपछि गरिब तथा विकासोन्मुख मुलुकका लागि तय गरिएका वित्तीय लक्ष्य प्रभावित हुने चिन्ता छ।
विश्वका १० ठूला विकास बैंकले उपलब्ध गराएको संयुक्त जलवायु वित्त विवरणअनुसार कुल रकममध्ये करिब १०३ अर्ब डलर विकासोन्मुख अर्थतन्त्र भएका मुलुकलाई लक्षित गरिएको छ।
प्रतिवेदन सार्वजनिक गर्ने युरोपेली लगानी बैंकले यो उपलब्धिले बहुपक्षीय विकास बैंकहरू सन् २०२४ मा अजरबैजानको बाकुमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा घोषणा गरिएका जलवायु वित्त लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको देखाएको जनाएको छ।
कोप–२९ मा विकास बैंकहरूले सन् २०३० सम्म न्यून तथा मध्यम आय भएका मुलुकका लागि वार्षिक कम्तीमा १२० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। साथै उच्च आय भएका मुलुकका लागि वार्षिक ५० अर्ब डलर उपलब्ध गराउने लक्ष्य तय गरिएको थियो।
‘यी परिणामहरूले बहुपक्षीय विकास बैंकहरूले ठूलो स्तरमा काम गरिरहेको र सबैभन्दा बढी आवश्यकता भएका क्षेत्रमा सहयोग विस्तार गरिरहेको देखाउँछन्,’ युरोपेली लगानी बैंकका उपाध्यक्ष एम्ब्रोइस फेयोलले भने।
विश्व बैंकको निर्णयले लक्ष्यमा प्रश्न
गत महिना विश्व बैंकले आफ्नो कुल वार्षिक वित्त पोषणमध्ये ४५ प्रतिशत जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनामा लगानी गर्ने लक्ष्य त्याग्ने निर्णय गरेपछि यी लक्ष्य पूरा हुनेमा प्रश्न उठेको छ।
यसअघिको जो बाइडेन प्रशासनको पालामा सन् २०२३ मा तय गरिएको उक्त जलवायु वित्त लक्ष्य त्याग्ने निर्णयलाई कार्यान्वयन गर्न वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबाट विश्व बैंकमाथि दबाब थियो। विश्व बैंकले अब आफ्नो ध्यान निश्चित प्रतिशतको लक्ष्यभन्दा पनि लगानीबाट प्राप्त हुने परिणाममा केन्द्रित गर्ने बताएको छ।
सोमबार सार्वजनिक प्रतिवेदनले भने सन् २०३० को जलवायु वित्त लक्ष्य पूरा गर्न विश्व बैंकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको देखाएको छ। गत वर्ष विकासोन्मुख मुलुकमा गएको १०२.६ अर्ब डलर जलवायु वित्तमध्ये झन्डै आधा हिस्सा विश्व बैंकले उपलब्ध गराएको थियो। पछिल्ला पाँच वर्षदेखि विकासोन्मुख देशका लागि जलवायु वित्त उपलब्ध गराउने प्रमुख संस्थाका रूपमा विश्व बैंक रहँदै आएको छ।
विश्व बैंक समूहका जलवायु परिवर्तन निर्देशक जेमी फर्गुसनले पछिल्लो तथ्यांकले बैंकले 'जलवायु अनुकूलित विकास' को माग पूरा गर्न निरन्तर काम गरिरहेको देखाएको बताए। उनका अनुसार विकास र जलवायु परिवर्तन एकअर्कासँग जोडिएका चुनौती हुन्।
युरोपेली लगानी बैंकका उपाध्यक्ष फेयोलले पनि सन् २०३० को लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।
‘म कुनै एउटा संस्थाको विषयमा टिप्पणी गर्दिनँ, तर तथ्यांक हेर्दा सन् २०३० को लक्ष्य पूरा हुनेमा म निकै आशावादी छु,’ उनले रोयटर्ससँग भने। उनले गत वर्ष गरिब तथा विकासोन्मुख मुलुकका लागि जलवायु वित्तमा भएको २१ प्रतिशत वृद्धि ‘अत्यन्त प्रभावशाली’ भएको बताए।
जलवायु वित्तमा तीव्र वृद्धि
बहुपक्षीय विकास बैंकहरूले न्यून तथा मध्यम आय भएका मुलुकलाई उपलब्ध गराउने जलवायु वित्त पछिल्ला पाँच वर्षमा दोब्बर भएको छ। सन् २०२१ मा ५१.६ अर्ब डलर रहेको यस्तो वित्त सन् २०२५ मा १०२.६ अर्ब डलर पुगेको छ।
सन् २०२५ मा जलवायु न्यूनीकरणसम्बन्धी परियोजनामा ६८ अर्ब डलर लगानी भएको छ। यसअन्तर्गत नवीकरणीय ऊर्जा, हरित प्रविधि र हरितगृह ग्यास उत्सर्जन घटाउने परियोजना पर्छन्।
त्यस्तै, जलवायु परिवर्तनका असरसँग जुध्न सहयोग गर्ने अनुकूलन वित्त पनि ३१ प्रतिशतले बढेर ३५ अर्ब डलर पुगेको छ।
उच्च आय भएका मुलुकमा जलवायु परियोजनाका लागि गरिएको लगानी पनि बढेर गत वर्ष करिब ६० अर्ब डलर पुगेको छ। सन् २०२१ मा यस्तो लगानी ३१ अर्ब डलरभन्दा केही बढी थियो। यसबाहेक निजी क्षेत्रबाट थप ८० अर्ब डलर बराबरको लगानी परिचालन भएको छ।
वातावरण केन्द्रित अनुसन्धान निकाय ईथ्रीजीका ड्यानी स्कलले विश्व बैंकको पछिल्लो निर्णयका बाबजुद पनि न्यून तथा मध्यम आय भएका मुलुकका लागि सन् २०३० सम्म वार्षिक १२० अर्ब डलर जलवायु वित्त उपलब्ध गराउने लक्ष्य पूरा हुने अपेक्षा व्यक्त गरे।
तर स्कलका अनुसार १२० अर्ब डलरको लक्ष्य केवल न्यूनतम सीमा मात्र हो। वास्तविक आवश्यकता पूरा गर्न वार्षिक करिब १८० अर्ब डलर बराबरको जलवायु वित्त आवश्यक पर्ने उनले बताए। त्यसका लागि विकास बैंक र तिनका शेयरधनीबाट निरन्तर नयाँ सोच र सुधार आवश्यक रहेको उनको भनाइ छ।
कोप–३० र कोप–३१ का चुनौती
गत वर्ष ब्राजिलमा सम्पन्न कोप ३० जलवायु सम्मेलनमा बहुपक्षीय विकास बैंकहरूले न्यून कार्बन उत्सर्जन र जलवायु उत्थानशील विकास नीति अघि बढाइरहेका मुलुकलाई सहयोग विस्तार गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका थिए।
यस वर्ष नोभेम्बरमा टर्कीले आयोजना गर्ने कोप–३१ सम्मेलनले विगतका निर्णयलाई कार्यान्वयनमा लैजाने प्रयास गर्नेछ। टर्कीका जलवायु मन्त्रीले अप्रिलमा रोयटर्ससँग कुरा गर्दै विकासोन्मुख मुलुकलाई जलवायु लक्ष्य पूरा गर्न करिब १ ट्रिलियन अमेरिकी डलर आवश्यक पर्ने बताएका थिए। (रोयटर्समा आधारित)
प्रकाशित: ३० असार २०८३ १४:५३ मंगलबार


-600x400.jpg)