अर्थ

काठमाडौंमा व्यावसायिक ग्यास बिक्रीमा रोक, ठूला होटल–रेस्टुरेन्टले बाहिरबाटै ल्याउनुपर्ने

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ।

निगमको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यकाभित्र रहेका ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास उपत्यकाभित्रका डिपो तथा विक्रेताबाट खरिद गर्न पाउने छैनन्। त्यस्ता व्यवसाय तथा उद्योगले उपत्यकाबाहिर रहेका ग्यास उद्योगबाट आफैं ग्यास खरिद गरी काठमाडौं ल्याउनुपर्नेछ।

निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार घरायसी उपभोक्तालाई प्राथमिकतामा राख्दै उपत्यकाका ग्यास डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्णय गरिएको हो।

उनका अनुसार उपत्यकामा घरायसी प्रयोजनका लागि ग्यासको माग उच्च रहने भएकाले व्यावसायिक क्षेत्रले समेत त्यही आपूर्ति प्रणालीबाट ठूलो परिमाणमा ग्यास खरिद गर्दा सर्वसाधारण उपभोक्तालाई अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।

निगमले स्पष्ट पारेअनुसार होटल, रेस्टुरेन्ट तथा उद्योगले ग्यास प्रयोग गर्न नपाउने भने होइन, उनीहरूले उपत्यकाबाहिरका ग्यास उद्योगबाट आवश्यक ग्यास आफैं व्यवस्थापन गरेर ल्याउनुपर्नेछ। यसका लागि सम्बन्धित व्यवसायीले आफ्नै सवारीसाधन तथा ढुवानीको व्यवस्था गर्नुपर्नेछ।

यससँगै हेटौंडा, चितवन, नवलपरासीलगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा ल्याइएका ग्यास सिलिन्डरसमेत उपत्यकाभित्र व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन।

निगमको यो निर्णयले एकातर्फ व्यावसायिक क्षेत्रलाई ग्यास व्यवस्थापनमा थप जिम्मेवारी थपे पनि अर्कोतर्फ घरायसी उपभोक्ताका लागि ग्यासको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

विशेषगरी ग्यासको अभाव वा आपूर्ति असहज भएका बेला ठूलो परिमाणमा ग्यास खपत गर्ने होटल, रेस्टुरेन्ट तथा उद्योगका कारण सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्थालाई कम गर्न यो व्यवस्था प्रभावकारी हुने निगमको विश्वास छ।

अब व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने उद्योग तथा व्यवसायीले उपत्यकाबाहिरका उद्योगसँग प्रत्यक्ष समन्वय गरी खरिद तथा ढुवानीको व्यवस्था गर्नुपर्नेछ। यसले घरायसी उपभोक्ताका लागि छुट्याइएको ग्यासको उपलब्धता बढाउने र बजारमा सर्वसाधारणलाई सहज रूपमा सिलिन्डर उपलब्ध गराउन सहयोग पुग्ने निगमको दाबी छ।

प्रकाशित: १७ भाद्र २०८३ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App