भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६६५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थागत कोष र कर्मचारीहरूको संयुक्त पहलमा संकलित उक्त रकम कोषमा दाखिला गरिएको हो।
सहयोग रकममध्ये संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट १६ लाख रुपैयाँ र संस्थामा कार्यरत कर्मचारीहरूबाट १४ लाख ६६५ रुपैयाँ संकलन गरेको जनाएको छ।
नगद सहयोगका अतिरिक्त बाढीपीडितलाई तत्काल आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीहरूसमेत प्रत्यक्ष वितरण गरिने संस्थाले जानकारी दिएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवालगायत आसपासका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। संस्थाले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
साथै, प्रभावित क्षेत्रमा राज्य संयन्त्रमार्फत राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउनसमेत अपिल गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फरवार्ड माइक्रोफाइनान्सले हाल ४० जिल्लामा रहेका १५९ वटा शाखामार्फत लघुवित्त सेवा दिँदै आएको छ। संस्थामा हाल २ लाख ८४ हजार ग्राहक सदस्य आबद्ध छन्।
प्रकाशित: २३ भाद्र २०८३ १७:४३ मंगलबार



