अर्थ

‘स्ट्रबेरी’ खेतीबाट वार्षिक तीस लाख आम्दानी

बनेपा नगरपालिका-१० जनागालका ४६ वर्षीय मुक्ति विष्ट अहिले स्ट्रबेरी टिप्न र बजार पठाउन व्यस्त छन्।

तीन वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेतीमा होमिएका विष्टले यसबाट वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

कोरोना महामारीको समयमा परीक्षणका रूपमा सुरु गरिएको यो खेतीले अहिले उनलाई सफल व्यवसायीको पहिचान दिलाएको छ। ‘बजारीकरणको समस्या छैन, बरु माग बर्सेनि बढ्दो छ,’ विष्टले भने, ‘अहिले स्थानीय बजारमा प्रतिकिलो ४०० देखि ८०० रुपैयाँसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ।’

कुनै औपचारिक तालिम बिना नै अरूले गरेको देखेर र सुनेकै भरमा यो व्यवसाय सुरु गरेका विष्ट अहिले जिल्लाकै नमूना किसान बनेका छन्।

उनले जनागालस्थित आफ्नै १० रोपनी जग्गामा खेती विस्तार गरेका छन् भने बनेपा र नुवाकोटको ककनी गरी कुल एक लाख बिरुवा रोपेका छन्। गत वर्ष सबै खर्च कटाएर ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेका उनी यस वर्ष आम्दानी अझ बढ्नेमा विश्वस्त छन्।

स्ट्रबेरीका साथै मौसमी सागसब्जी र कुखुरापालनमा समेत सक्रिय विष्टले स्ट्रबेरीका बिरुवा समेत बिक्री गर्दै आएका छन्। उनको फर्ममा अहिले पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

व्यवसायलाई थप विस्तार गर्ने सोचका साथ उनले स्ट्रबेरीबाट वाइन र जुस उत्पादन गर्ने उद्योग स्थापनाका लागि विज्ञहरूसँग परामर्श गरिरहेका छन्।

प्रकाशित: २ फाल्गुन २०८२ १५:२८ शनिबार