अर्थ

बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन सकेन। सम्झौता हुन नसके पनि वार्ता भने सकारात्मक रूपमा अगाडि बढेको जनाइएको छ।

आगामी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई देशबीच जतिसक्दो छिटो विद्युत् खरिद बिक्री सम्झौता गर्ने सहमति भने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो।

विद्युत् खरिद बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरूबारे विस्तृत रूपमा छलफल भएको र यसलाई अन्तिम रूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौं, हामीले पेस गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरूबारे विस्तृत छलफल गर्‍यौं’, घिसिङले भने।

‘उहाँहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जतिसक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षा यामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ।’

प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न बंगलादेश समक्ष प्रस्ताव पठाएको थियो। विद्युत् खरिद बिक्री सम्झौता पाँच वर्षको लागि गर्न लागिएको थियो।

नेपालले ढल्केबर–मुजफरपुर ४०० केभीअन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता गर्ने तयारी गरिएको थियो। 

प्रकाशित: ११ फाल्गुन २०८० ११:२४ शुक्रबार

बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ