पर्वत— अमेरिका बस्दै आएका पर्वत, ठुलीपोखरी-१ का मवानीशंकर सापकोटाले भुकम्पपीडितलाई नगद २६ लाख रुपैयाँ राहत वितरण गरेका छन्। रोजगारीका सिलसिलामा लामो समयदेखि अमेरिकामा रहेका उनले मृतक परिवारदेखि सामान्य घर क्षति भएकासम्मलाई राहत बितरण गरेका हुन्।
ठूलीपोखरी–१ का भाष्कर सापकोटा र ठुलीपोखरी–८ का गोपाल पौडेलको भुकम्पमा परी काठमाडौंमा ज्यान गएको थियो। भाष्कर आन्तरिक राजश्व कार्यालयमा नायव सुब्बा पदमा र गोपाल नेपाल प्रहरीमा कार्यरत थिए। उनीहरुको कार्यालयको कामकै शिलशिलामा भुकम्पमा परी ज्यान गएको हो।
मृतक दुवैका परिवारलाई भवानीशंकर सापकोटाले जनही दुई लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेका छन्। त्यस्तै सापकोटाले चार वटा कक्षा कोठा भत्किएको स्थानीय त्रिभुवन निमाविलाई पाँच लाख र अन्य पाँच वटा प्राथमिक तहका विद्यालयलाई जनही १५ हजार पनि प्रदान गरे।
उता सापकोटाले गाउँका एक सय ७० परिवारलाई नगद राहत प्रदान गरेका छन्। पूर्ण रुपमा घर क्षति भएका परिवारलाई १४ हजार, आंशिक क्षति भएकालाई नौ हजार र सामान्य घर क्षति भएका परिवारलाई पाँच हजारको दरले सापकोटाले राहत बितरण गरेका हुन्। उनले भौतिक क्षति भएको प्रसिद्ध धार्मिक तथा पर्यटकी स्थल बाटुलेचौर मन्दिरलाई समेत १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
भवानीको परिवार १५ वर्षदेखि अमेरिकामा बस्दै आएको छ। आफू प्रदेशमा भएपनि विनासकारी भुकम्पबाट पीडित बनेका गाउँलेलाई थोरै भएपनि पिडामा सघाउन रकम नेपाल पठाएको उनले बताए ।
प्रकाशित: २४ जेष्ठ २०७२ ००:२० आइतबार



