अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चर्चा बटुलिरहेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ अर्थात् ‘तिनीहरू’ अब नेपालको प्रतिनिधित्व गर्दै ओस्कारको दौडमा जाने भएको छ ।
सन् २०२७ मा अमेरिकामा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्सका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘तिनीहरू’लाई सिफारिस गरिएको हो । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले सार्वजनिक गरेको निर्णयसँगै चलचित्रको अन्तर्राष्ट्रिय यात्रा थप महत्त्वपूर्ण चरणमा प्रवेश गरेको छ ।
ओस्कारका लागि ‘तिनीहरू’सँगै ‘गौंथली’ले पनि आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तुति, कथावाचन, चरित्रको भावनात्मक पक्ष र समग्र कलात्मक शिल्पको मूल्यांकनपछि छनोट समितिले ‘तिनीहरू’लाई नेपालको तर्फबाट पठाउने निर्णय गरेको जनाएको छ ।
यसअघि नै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव देखाइसकेको ‘तिनीहरू’ले गत जेठमा कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाको जुरी प्राइज जितेको थियो । कान्सको उक्त विधामा नेपाली चलचित्रले पुरस्कार जितेको यो पहिलो अवसर हो ।
कान्सको उपलब्धिपछि चलचित्रले अन्तर्राष्ट्रिय फिल्म वृत्तमा थप चर्चा पाएको छ । टोरोन्टो, मेलबर्न र बुसानलगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत छनोट भइसकेको चलचित्र अहिले नेपालका हलमा ‘तिनीहरू’ नामबाट प्रदर्शन भइरहेको छ ।
अब ओस्कारको अन्तिम प्रतिस्पर्धामा पुग्ने लक्ष्यसहित चलचित्रले अर्को यात्रा तय गर्नेछ । कान्समा प्राप्त उपलब्धिलाई ओस्कारको यात्रामा बलियो आधारका रूपमा हेरिएको छ ।

प्रकाशित: २९ भाद्र २०८३ १६:०१ सोमबार



