तिमीले आरोपको ढुंगा फ्याँक्यौं
खेदोको कालो बादल उडायौ
सोच्यौ -
मेरो आकाश सधैंका लागि धमिलिनेछ।
तिमीले मसँग भएका धेरै कुरा खोस्यौ
विश्वास, अवसर र साथीहरूको साथ
प्रगतितर्फ उक्लने केही खुड्किला।
मेरो सिर्जनामाथि सन्देहको धुलो छर्यौ
मेरा शब्दहरू कारागारमा थुन्न खोज्यौ
मेरो सोझोपनलाई आफ्नो चलाखीपनको
सिँढी बनायौं
मेरो मौनतालाई डर ठानेर
बारम्बार आकमण गरिरह्यौ
नदीलाई बाँधेर उसको बाँध रोकिँदैन
बादल छेक्दैमा वर्षा सकिँदैन
अनि सत्यलाई थुन्दैमा उज्यालो सकिँदैन
जतिजति तिमीले मेरो उज्यालो खोस्न खोज्यौ
त्यतित्यति मेरो आत्मा प्रज्ज्वलित हुँदै गयो
एकदिन समयले आफ्नै अदालत बसाल्ने छ
त्यहाँ मसँग कुनै प्रतिशोध हुने छैन
कुनै चर्काे आवाज हुने छैन।
प्रकाशित: ३२ असार २०८३ १२:४९ बिहीबार



