दक्षिण भारतीय चर्चित अभिनेता रवि तेजाको अभिनय रहेको फिल्म ‘इरुमुडी’ कानुनी विवादमा तानिएको छ।
बाल कलाकार नक्षत्रसँग सम्बन्धित उजुरी प्राप्त भएपछि तेलंगाना श्रम विभागले फिल्मका निर्मातालाई नोटिस पठाएको हो।
नाबालिग बालिकालाई फिल्मको छायांकन तथा प्रचारप्रसारका गतिविधिमा सहभागी गराइएको विषयमा उजुरी परेपछि विभागले यस्तो कदम चालेको समाचार सार्वजनिक भएको छ।
यस विषयमा फिल्म निर्माण कम्पनी ‘मैथ्री मुभी मेकर्स’ सँग छलफल गर्न बैठकसमेत बोलाइएको छ।
तेलंगाना टुडेको रिपोर्टअनुसार ‘जय लोक सत्ता’ का संस्थापक तथा अध्यक्ष सी.महेश बाबुले श्रम विभागमा उजुरी दर्ता गराएका छन्।
उजुरीमा बाल कलाकार नक्षत्रको काम गर्ने समय, उनलाई दिइने पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विषय उठाइएको छ।
रंगा रेड्डी क्षेत्रका संयुक्त श्रम आयुक्तले आगामी नोभेम्बर ४ तारिखका दिन फिल्म निर्माण कम्पनीका प्रतिनिधिसँग बैठक बोलाएका छन्।
मिडिया रिपोर्टअनुसार प्रचार कार्यक्रमका क्रममा भएको कुराकानी वा प्रयोग गरिएको भाषाले बाल कलाकारको सम्मान र सुरक्षामा असर पारेको छ कि छैन भन्ने विषयमा पनि विभागले अनुसन्धान गर्नेछ।
यो विषयमा तेलंगाना श्रम विभागले निर्मातासँग विभिन्न महत्त्वपूर्ण कागजात माग गरेको छ। जस्तै जिल्ला मजिस्ट्रेटबाट लिइएको अनुमति, बाल कलाकारका अभिभावकको सहमति, काम गरेको समय र हाजिरी विवरण, बाल कलाकारको पढाइ तथा शिक्षाको व्यवस्था, सुरक्षा र संरक्षणका उपायहरू र प्रचारप्रसारका कार्यक्रममा सहभागी भएको विवरण आदि पेश गर्न माग गरिएको छ।
यसका साथै बाल कलाकारले कमाएको रकममध्ये २० प्रतिशत उनको नाममा फिक्स्ड डिपोजिट खातामा जम्मा गरिएको छ वा छैन भन्ने जानकारी पनि माग गरिएको छ।
निर्मातालाई बैठकमा आवश्यक सबै कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।
तेलंगाना श्रम विभागको यो कदम यस्तो समयमा आएको हो, जतिबेला फिल्म ‘इरुमुडी’ को प्रि–रिलिज कार्यक्रममा रवि तेजाले प्रयोग गरेको एउटा शब्दलाई लिएर विवाद भइरहेको छ।
आरोपअनुसार गत अगस्टमा आयोजित कार्यक्रममा रवि तेजाले बाल कलाकार नक्षत्रबारे कुरा गर्ने क्रममा अपमानजनक अर्थ लाग्ने शब्द प्रयोग गरेका थिए।
कार्यक्रममा नक्षत्रले रवि तेजालाई सोधेकी थिइन्, ‘तपाईं मलाई कुन उपनाम दिन चाहनुहुन्छर?’
त्यसको जवाफमा रविले दुई पटक एउटा विवादास्पद शब्द प्रयोग गरेका थिए। उक्त शब्द सुनेपछि वरपर रहेका मानिसहरू असहज हुँदै हाँसेका थिए।
प्रकाशित: १५ कार्तिक २०८३ १५:५० आइतबार



