कला/साहित्य

मिथुन चक्रवर्तीको घर परिसरमा परिवारका सबै सदस्यलाई छुट्टाछुट्टै कुटी

बलिउड अभिनेता मिथुन चक्रवर्तीको मुम्बईस्थित भव्य निवास अहिले फेरि चर्चामा आएको छ। मुम्बईको मड आइल्यान्ड क्षेत्रमा रहेको उनको यो घर करिब १.५ एकड अर्थात् ६५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ।

मिथुनको यो सम्पत्ति सामान्य बंगला जस्तो मात्रै छैन। घरको विशेषता नै परिवारका विभिन्न सदस्यका लागि छुट्टाछुट्टै कुटी (कॉटेज) बनाइनु हो। ठूलो परिसरभित्र परिवारसँगै उनका २२ वटा घरपालुवा जनावर पनि बस्छन्।

घरभित्रै उनका छोराहरूले फिल्म निर्माण तथा विभिन्न सेट तयार गर्न प्रयोग गर्ने स्टुडियोसमेत रहेको बताइएको छ। यही कारण मिथुनको निवास परिवारका लागि घरसँगै सिर्जनात्मक काम गर्ने स्थानका रूपमा पनि प्रयोग हुँदै आएको छ।

मिथुनले आफ्नो बंगलाको नाम जेठा छोरा मिमोह चक्रवर्तीको नामबाट राखेका छन्।

कुनै समय आर्थिक अभावका कारण संघर्षपूर्ण जीवन बिताएका मिथुन आज बलिउडका चर्चित कलाकारमध्ये एक हुन्। उनले आफ्नो करिअरको सुरुवात सीमित स्रोतसाधनबाट गरेका थिए। पहिलो फिल्ममै राष्ट्रिय पुरस्कार जिते पनि त्यसपछि पनि उनको जीवन सहज थिएन।

मिथुनले विगतमा आफूले सडकमा रात बिताएको र शौचालय प्रयोग गर्न कार्यालय सफा गर्नुपरेको संघर्षका दिनहरूबारे समेत बताउँदै आएका छन्। संघर्षबाट उठेर स्थापित बनेका उनको अहिलेको विशाल निवासले उनको जीवनयात्रामा आएको ठूलो परिवर्तनलाई पनि झल्काउँछ।

(इन्डियन एक्सप्रेसको सहयोगमा)

प्रकाशित: २८ भाद्र २०८३ १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App