कला/साहित्य

सदरमुकाम चैनपुरको रैवार

समयचक्र

बंगालको खाडीमा आएको चक्रवातको असरका कारण असोज ९ गते बिहानदेखि सदरमुकाम चैनपुरमा लगातार पानी पर्‍यो। कुनै बेला सिमसिम र कुनै बेला दर्केर पानी परेको देखेर सदरमुकामवासी त्रसित भए। जिल्लाभरि नै पानी परेकाले यातायातका साधनमध्ये काठमाडौं, धनगढी र महेन्द्रनगर चल्ने गाडीहरू चले तर जिल्लाका तलकोट, छान्ना, छबिस पाथीभेरा, मष्टा गाउँपालिकालगायतका कच्ची सडकमा सवारीसाधन कम चलेको सुनियो। सदरमुकाम सुनसानप्रायः देखियो।

नेपाली कांग्रेस जयपृथ्वी नगरपालिकाको नगर अधिवेशनमा भाग लिन आएका क्षेत्रीय प्रतिनिधिबाहेक अरू सर्वसाधारणको उपस्थिति खासै देखिएन। पितृपक्षको मुखैमा र किनमेल गर्ने बेलामा बजार शून्य भएको देखेर व्यापारी वर्ग पनि  चिन्तित देखिए।

सेती नदीपारिको डुंग्री जिउलामा धान काटिरहेको देखिन्छ। खेइरा, पडेस, गोलाई देवल, सुवेडा, रुइनाबगर, साइलाबगर आदि बझाङका अन्नका भण्डारमा धान पाकेर जिउला पहेँलपुर देखिँदै छन्।

भदौको अन्त्यतिर बिरामी दाजु जयकृष्ण उपाध्यायलाई काठमाडौं लिएर आउँदा सेती नदी, बाउलीगाड, सुनिगाड, तलकोटीगाड, लाक्षीगाड, द्वारीगाडमा पानी बढेर उर्लिरहेको देखिन्थ्यो। धानका बाला पसाइरहेका मात्र देखिन्थे। कोदोका गाना फक्रिँदै थिए तर १०/१५ दिनभित्र धानका बाला पाकेर झुलेका र कोदाका गाना फक्रिएका देखेर लाग्यो– बालीनालीले पनि आफ्नो यौवनावस्था पूर्ण रूपले देखायो, १८/२० वर्षकी चेलीले आफ्नो पूर्ण रूप देखाएजस्तै।

छाता ओढेर हिजो सदरमुकामका केही भागको अवलोकनका लागि घुमेँ। कक्षा ९/१० पढ्दाखेरिका साथी सुधन जोशीकोमा एकछिन बसेँ। उनको पुरानो घर (तीनतले) जीर्ण भएको रहेछ। उनका हजुरबुबा देवीप्रसाद जोशी (जसलाई देवी साहु भन्ने गरिन्थ्यो) द्वारा निर्मित सो घर चैनपुरको इतिहासको कालखण्ड हो। व्यापारिक घरानाका इमानदार व्यक्ति हुनुहुन्थ्यो स्व. देवी साहु। सो ऐतिहासिक घरमा २०५६ सालको राष्ट्रिय चुनावमा तत्कालीन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले भोजन गर्नुभएको थियो। एक घण्टासम्म आराम गर्नुभएको थियो।

यसैगरी जिल्लाको भ्रमण गर्ने क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि सो घरको अवलोकन गर्नुभएको थियो। खुलामञ्च दायाँबायाँका पुराना घरहरू पूरै जीर्ण देखिन्थे। जुन घरमा कुनै बेला सरकारी कार्यालयका कामहरू गरिन्थे। ८५ वर्षका वनवीर कामीले सडकमा हिँडिरहेको पंक्तिकारलाई देखेर बोलाए। एकछिन बसेँ। छोरा र छोरीका तर्फबाट १७ वटा नातिनातिनी रहेछन्। जसमध्ये ६ जनाले उनलाई घेरेर बसेका थिए।

पंक्तिकारले गाएका गीतहरूको राम्रो चर्चा गरे, स्मरणशक्ति निकै राम्रो रहेछ। उनी भन्दै थिए, जुन बेला कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निधन भयो, त्यही बेलादेखि नेपाली कांग्रेस खिएको हो। ती वृद्धको कथन थियो– शेरबहादुर देउवाले अभिभावक भएर बस्नुपर्ने तर त्यो भएन।

खुलामञ्चको डिलबाट चैनपुरको पश्चिम भाग भएर बग्ने बाउलीगाड, पश्चिमको सिमखेत र कुनै बेला वृक्षरोपण गरेका सल्लाका रूखहरू हेरेँ। बढेर अग्ला भएका थिए, हरिया देखिन्थे।

सम्झेँ, लोकतन्त्रका बोटहरूको सुरक्षा गर्ने हो भने पर्यावरण सफा रहनेछ, भूस्खलन रोकिनेछ। बाउलीगाड उत्ताउलो पाराले बगिरहेको थियो। जतिसुकै मात्तिएर बगे पनि धीर गतिले बगेको सेती नदीमै मिसिन्छ।

२०५६ सालको वर्षामा बगाएको बाउलीगाडको पुरानो पुलको भन्दा अलि माथितिर निकै लामो झोलुंगे पुलले जिल्लावासीलाई यातायातमा सहयोग गरिरहेको छ। सदरमुकामको बिच भागमा आस्थाकी देवी सुर्मादेवीको मन्दिर छ। मन्दिरलाई सिमलको ठुलो रुखले ओत दिएको छ। देवीलाई मात्र नभएर रुखमा वासस्थान बनाएका चील, काग, भगेराका बथानहरूलाई पनि आश्रय दिएको छ। पूर्वउत्तरबाट बग्दै गरेकी सेती नदी लगातारको पानीले बढेको देखिन्छ।

सहरलाई सुरक्षा दिनका लागि नदी किनारामा ग्याबिन वाल लगाइएको छ। उर्लंदो नदीको भेलले किनाराभरि पानी बढेको देखेर कतै असर त गर्ने होइन, त्रिशूली नदीको जस्तै ? भन्ने लाग्छ। नदीको त्यो दृश्य किनारामा उभिएको बुढो सिमलको रुखले हरपल, हरक्षण हेरिरहेछ, हिसाब गरिरहेछ।

कुनै बेला ‘कुमालतणो’ नामले परिचित सेती नदी र बाउलीगाडको बिचमा जोखिम बोकेर बसेको यो सहरको नाम बझांगी राजा देवीजंगले चयनपुर राखे। बोल्दाबोल्दै चैनपुरमा परिणत भयो। वर्तमान समयमा चैनपुरले काँचुली फेरेको छ। पहिलेका पणा (स्लेट) ले छाएका एकतले, दुईतले घरहरू थोरै मात्र देखिन्छन्। प्रायः सबै ठाउँमा पिल्लरवाला चार/पाँच तलाका पक्की घरहरू देखिन्छन्। केपी प्लाजा, होलिडे इन नामका अत्याधुनिक होटलहरूले पर्यटकको स्वागत गर्ने गर्छन्।

साइपाल मानसरोवर जाने ताक्लाकोटसम्मको जयपृथ्वीबहादुर सिंह राजमार्ग यही ठाउँ भएर जाने भएकाले पर्यटनको ठुलो सम्भावना छ तर दुई नदीको बाढीको चिन्ता पनि त्यत्तिकै छ। बझाङको ऐतिहासिक धरोहर हात्तीसार दरबार अवलोकन गर्न पुगेँ। अग्लाअग्ला धुपी सल्ला र अन्य रूखहरूले तीनतले हात्तीसार दरबारलाई शोभा दिइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय रहेको सो भवनभन्दा अन्य दुईवटा आधुनिक भवन छन्। जनसरोकारका दैनिक कामहरू भइरहन्छन्। सत्यदेवी जोशी सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छिन्। जिल्लाकी पहिलो महिला राष्ट्रसेवक कर्मचारी हुन् सत्यदेवी। पण्डित एवं प्राध्यापक विष्णुभक्त जोशीकी छोरी उनी जयपृथ्वी नगरपालिकाकी स्थानीय बासिन्दा हुन्। निडर छिन्, स्पष्ट छिन्। नजिकै राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको सालिक छ। नगरपिता चेतराज बजालले दुई वर्ष पहिले सालिकको अनावरण गरेका थिए। बझाङ थलाराकी चेली सिर्जना सिंहले सो सालिकको निर्माण गरेकी हुन्।

अहिले म स्वर्गवासी जेठा दाजु शुकदेव उपाध्यायद्वारा २०४९ सालमा निर्मित घरमा बसेको छु। सहरको बिच भागमा अवस्थित रातो रङको चारतले घर अर्धप्राचीन छ। तीन वर्ष पहिलेको भूकम्पले घर जीर्ण बनाएको छ। स्लेटले छाएको छाना सायद खलबलिएर होला, प्रायः सबै कोठामा पानी चुहेर भाँडा राखेका छौं। यो लोकतान्त्रिक घर हो। दाइले गंगोत्री, काशी, प्रयाग, गया, रामेश्वर, हरिद्वार आदि भारतभूमिका तीर्थबाट जल ल्याएर घरमा सुरक्षित राखेको याद छ।

यसैगरी कैलाश मानसरोवर र पशुपति, मुक्तिनाथको पनि जल ल्याएर घरलाई पवित्र पार्नुभएको थियो। बिहान सबेरै पूजा गर्दा विशेष तरिकाले शंख बजाउनुहुन्थ्यो। शंखको आवाजले नगरवासी खुसी हुन्थे। स्व. मानबहादुर सिंह (मिठु सिंह), रामप्रसाद खत्री (रामबिचारी), मदन भण्डारी, स्व. दीर्घराज जोशीलगायत जिल्लाका नाम कहलिएका व्यक्तिहरूले स्वर्गवासी दाजुको धार्मिक कर्मको खुलेर प्रशंसा गर्ने गर्थे। वास्तवमा यो घर पवित्र मन्दिर हो। उहाँको निधनले घर मात्र होइन, हाम्रो परिवार नै टुहुरोजस्तो भएको छ। दुई वर्ष पहिले भारतको बनारसमा लागेको कुम्भमेलामा हृदयगति बन्द भएर दाजुको दुःखद निधन भयो।

सहरलाई चक्रपथले घेरेको छ। कुनै बेला पानकोटको पुल तरेर पडेस, गोलाइका मानिसहरू मात्र नभएर नदीपारिका बासिन्दा पनि आवतजावत गर्थे। अहिले नयाँ पक्की पुल निर्माण भएका कारण सबैलाई सजिलो भएको छ। बजार अस्तव्यस्त हुनबाट र फोहोरबाट बचाउन नगरपिताले विशेष ध्यान दिएका छन् तर ढलको समस्या निकट भविष्यमा देखिनेवाला छ।

धेरैजसो अस्थायी टहरामा जस्तापाता राखेकाले गर्मीमा निकै गर्मी र जाडोमा बढी नै जाडो हुने गर्छ। कुनै बेला खेतहरूमा रोपाइँ हुन्थ्यो। असोजमा लहलहाउँदा धानका बाला झुलेका देखिन्थे। धानबाली भित्र्याएपछि शिलदेवीमा लाग्ने विशाल मेलामा जिल्लाभरिका र छिमेकी जिल्ला बाजुरा, डोटी, बैतडीबाट संस्कृतिकर्मीहरू मेला भर्न आउने गर्थे। आपसमा देउडा खेल सुरु हुन्थ्यो। आआफ्ना समूह बनाएर रातभर, दिनभर खेल चलिरहन्थ्यो।

दर्शकहरूले तिलको दाना अटाउने ठाउँ पनि हुँदैनथ्यो। धेरै पटक मैले पनि खेल खेलेको छु। पहिलो पटक देउडा गीति क्यासेट ल्याउँदा सबैले पानासोनिक टेपरेकर्डरमा पंक्तिकारका गीत बजाउँदै युवाहरू रामरमिता गर्ने गर्थे। अहिले खेतीयोग्य जमिन र देउडा खेल्ने ठाउँहरूमा आलिसान भवन र होटलहरू बनेका छन्। निकै साँघुरो बन्दै गएको छ हाम्रो सदरमुकाम। जग्गाको अभावले होला, मूल्यवृद्धि पनि आकासिएको छ।

सदरमुकाममा निजी क्षेत्रका चार एफएम सञ्चालित छन्। हरेक एफएम रोचक छन्। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत जयपृथ्वी नगरपालिकाको आन्तरिक चुनावी प्रतिस्पर्धामा नेपाल पत्रकार महासंघ बझाङ शाखाका प्रथम सभापति जगतबहादुर खड्का सभापति पदका लागि निर्वाचित भएका छन्। सम्भवतः बझाङ जिल्लामा पत्रकार राजनीतिमा प्रवेश गरेको यो पहिलो पटक हो।

नेपाली कांग्रेस यतिबेला आन्तरिक द्विविधामा रहेको छ। यसले जिल्लावासी र समग्र सुदूरपश्चिमवासी निराश छन्। दुई दिनदेखि लगातार परेको पानीका कारण स्थानीयवासी भयभीत देखिन्छन्। सञ्चारको सुविधा छ, तर बत्ती बेलाबेलामा निभिरहन्छ। गाउँगाउँबाट आफ्नै बारीमा उत्पादन गरेका मौसमअनुसारका तरकारी, फलफूल किसानहरूले प्रतिदिन बजारमा ल्याउने गर्दछन्। तर, महँगो धेरै छ। यहाँका मानिसहरू चाउमिन धेरै मन पराउँदा रहेछन्, तर स्वास्थ्यमा असर गर्छ भन्ने कुरामा सचेत देखिँदैनन्। सदरमुकामका आदिवासी व्यापारी ब्यासी पनि हुन्।

 झन्डै ५५ वर्ष पहिले दार्चुलाको व्यास हिमालको फेदबाट उनीहरू यहाँ व्यापार गर्न आए। इमानदार छन्। व्यापारिक सेवा गरिरहेका छन्। एक जना व्यापारीले, ‘हजुर, अब कहिले माननीय बन्ने ?’ यो प्रश्नले मेरो मनले पनि उत्तर खोजिरहेछ। अब म माननीय कहिले बन्ने ? जिल्लावासीको सच्चा सेवा कहिले गर्न पाउने ? यो जिज्ञासाको उत्तर पंक्तिकारले जिल्लाका लोकतन्त्रवादी आत्माहरू स्व. वीरजित बोहोरा, ज्योतिप्रकाश जोशी, लोकराज जोशी, भक्कु दमाईं, लक्ष्मीराज जोशी, जगतबहादुर सिंहलगायतबाट पाउनुपर्नेछ। उहाँहरूको आत्माको जिज्ञासाको सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयमा पंक्तिकारले चित्त बुझ्दो तरिकाले  उत्तर दिनुपर्नेछ।

प्रकाशित: २८ कार्तिक २०८३ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App