कला/साहित्य

कवि अर्जुन पराजुली ‘बलिदान’ सार्वजनिक

राजनीतिक आन्दोलनका नाममा कयौँ सपनाहरू निभाइए, कयौँ काखहरू रित्तिए। तर, जसले आफ्नो सन्तान गुमाए, उनीहरूको मनमा त्यो ‘युद्ध’ कहिल्यै सकिएन। त्यो कहालीलाग्दो यथार्थ जीवितै छ। यही निर्मम यथार्थ र एउटी आमाको अनन्त पर्खाइलाई पर्दामा उतारेको सांगीतिक चलचित्र ‘बलिदान’ सार्वजनिक भएको छ।

सर्जक रतन देवकोटाको कथा, निर्देशन, संगीत तथा स्वरमा गीत तयार पारिएको छ। गीतकाे रचना चर्चित कवि अर्जुन पराजुलीले गरेका छन्, जसमा सहिदकाे रगत खेर नजावस भन्दै आमा र देशलाई भनेका छन्।

भिडियोको केन्द्रीय पात्रमा अभिनेत्री सरिता गिरी रहेकी छिन्। उनले एउटी यस्ती आमाको भूमिका निभाएकी छिन्, जो आफ्नो छोरा मारिएको (सहिद भएको) कुरा स्वीकार्न तयार छैनन्। आमालाई लाग्छ, छोरा झोला बोकेर स्कुल पढ्न गएको हो, आन्दोलनमा होइन। उनी दिनरात भित्तामा कोइलाले धर्को कोर्दै छोराको जाँच सकिने दिन गनिरहन्छिन्।

भिडियोको एउटा दृश्यमा सपनामा छोराले 'आमा...' भनेको सुन्दा आमाको छटपटी र ब्युँझिएपछि सर्ट र लालटिन बोकेर खेतको बुख्याँचालाई छोरा सम्झिँदै अंगालो हालेको क्षण निकै मार्मिक र प्रतीकात्मक छ। छोराको रगत लतपतिएको सर्टको प्वाल छाम्दै आमाले गर्ने अभिव्यक्त गर्ने भावलले दर्शकको आँखा रसाउँछ।

निर्देशक रतन देवकोटा भन्छन्, 'यो केवल गीत होइन, यो द्वन्द्वले दिएको कहिल्यै नपुरिने घाउको कथा हो। यहाँ आमाको भ्रम र यथार्थको द्वन्द्वलाई कलात्मक रूपमा देखाइएको छ।'

भिडियोको सिनेम्याटोग्राफी सरोजकुमार चौहानले गरेका हुन् भने सम्पादन प्रविन भट्टको रहेको छ।

गीतमा रोमी बस्नेतको संगीत संयोजन तथा उत्पादन र कोबिड बज्रको मिक्सिङ/मास्टरिङ रहेको छ। यस्तै, वरिष्ठ स्रष्टा धीरेन्द्र प्रेमहर्षिले संगीत सुपरभिजन गरेका छन्।

रतन देवकाेटा युटुब च्यानलमा भिडियाे सार्वजनिक गरिएकाे छ।

प्रकाशित: ९ फाल्गुन २०८२ १७:२४ शनिबार