१) मुक्तक
आज बितिसक्यो भोलिको सुन्दर चाहना छाडेर
हिम्मत जुटाउने साहस बटुल्नु छ संवेदना छाडेर
तेरोमेरो भागवण्डा पछि लगाउँला फुर्सदमा हजुर,
विपदको घडीमा सेवामा लागौं आलोचना छाडेर।
२) मुक्तक
प्रायःजसो सहनशील व्यक्तिको मात्रै हार किन हुन्छ
कागजी योग्यताको मापन र प्रचारप्रसार किन हुन्छ
मै हुँ भन्ने अभियन्ताकै फरक छ वास्तविक व्यवहार,
अब्बल सर्टिफिकेटभित्र सानो संस्कार किन हुन्छ?
३) मुक्तक
फलेको वृक्ष नै नुहेर जमीनतिर झुकेको हुन्छ रे
बालुवामा खन्याइदिए पानी पनि सुकेको हुन्छ रे
परिस्थिति जस्तो बनोस् सधैँ त्यही मात्रै रहन्न हजुर,
हरेक दुर्घटनाभित्र अलौकिक पाठ लुकेको हुन्छ रे।
४) मुक्तक
उत्कट अभिलाषा बिना अप्ठ्यारो शिखर चढ्दैन
कसैको साथ र सपोर्ट नभए नयाँ ठाउँमा अड्दैन
दोस्रोलाई पर्दासम्म त 'ए' मात्रै भन्ने हो रहेछ हजुर,
जबसम्म आफूलाई पर्दैन नि कोही अगाडि बढ्दैन।
५) मुक्तक
अनुकूलतामा जुट्ने प्रतिकूलतामा छुट्ने रहेछ
अनपेक्षित समस्यामा बहाना गरी कतै लुक्ने रहेछ
देख्ने र सुन्नेले त एकछिन ध्यान दिने मात्रै हो हजुर,
जसलाई चोट लाग्छ नि उसैलाई मात्रै दुख्ने रहेछ।
प्रकाशित: २८ भाद्र २०८३ १०:५८ आइतबार



