कला/साहित्य

तुलसी घिमिरेकी छोरी पञ्चमीको डेब्यू चलिचित्र ‘पहाड’ को ‘मोहनी लगाउने’ सार्वजनिक

निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को गीत ‘मोहनी लगाउने’मा नयाँ कलाकारलाई समेटिएको छ।  

सोमबार कमलपोखरीस्थित एक हलमा कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको थियो। गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीलाई देख्न सकिन्छ।

निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत रहेको गीतमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ। उक्त गीतमा अभिनेता विपिन कार्कीको र्‍याप सुन्न सकिन्छ भने कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन्।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए। ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनुपर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ। यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण सन्देश पनि छ। यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छु’, निर्देशक घिमिरेले भने ।  

ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ। ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिएका योगदानबारे उल्लेख गर्दै आफू घिमिरेको ठुलो प्रशंसक रहेको बताए।

उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको घिमिरेले बताए ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन्। फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरिसकेका छन्।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ।  

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएका छन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनमा फिल्म  प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: ९ चैत्र २०८२ १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App