‘खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान’ ले प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ लाई पद्मश्री साहित्य पुरस्कार -२०८२ प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका ५ कृतिमध्येबाट मूल्यांकन समितिले ‘सलह’ लाई चयन गरेको हो।
‘सलह’ नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गर्ने सशक्त आख्यान हो। काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैली यसका प्रमुख शक्ति हुन्। ‘सलह’ ले सामाजिक यथार्थसँग व्यक्तिगत पीडा जोड्दै नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वको प्रश्न प्रभावशाली रूपमा स्थापित गरेको छ।
त्यसैगरी नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ। धरावासीका शरणार्थी, राधा, आधा बाटो लगायत ३२ कृति प्रकाशित छन्। झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्याता धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तर आधुनिक ढाँचाका माध्यमबाट प्रस्तुत गरेका छन्।
यस वर्षको पद्मश्री गौरव पुरस्कार प्राडा जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्। ‘यदुनाथ खनालः जीवनी र विचार’,‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन्।
संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन्।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख तथा सम्मानपत्र छ।
प्रकाशित: १ आश्विन २०८३ १३:४२ बिहीबार



