कला/साहित्य

गीतकार प्रकाश भट्टराईको ‘गुनासो’ लाेकार्पण

कोसी साहित्य-कला परिषद् नेपालले प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ लाेकार्पण गरेको छ।

कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरहीका अध्यक्षता तथा चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीकाे प्रमुख आतिथ्यमा गीतसंग्रहकाे लाेकार्पण गरिएकाे हाे।

संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सहभागीहरूलाई शब्द मार्फत स्वागत गरेकी थिइन्।

संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले सञ्चालन गरेकाे उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्ले लगायतको उपस्थिति थियो।

प्रमुख अतिथि प्राज्ञ गङ्गा सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाएकामा कृतिकारलाई बधाइ दिइन्। उनले गीतले सबैको मन छुन सक्ने विचार व्यक्त गरिन्।

त्यस्तै साहित्यिक तथा सामाजिक व्यक्ति, वरिष्ठ साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु हुने अवसर पाएकामा गर्वबोध भएको विचार व्यक्त गरे। 

 

कृतिका लेखक भट्टराईले निकै मेहनतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउँदै यस कार्यमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे।

कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै प्रकाश भट्टराई सार्वजनिक गर्न सकेकामा खुसी समेत व्यक्त गरे।

प्राडा भीम खतिवडा र कृष्ण उदाशीले लोकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै कवि तथा गीतकार उदाशीले प्रकाश भट्टराईले यस कृतिमार्फत गीत विधामा एउटा नयाँ मानकको सुरुआत गरेको बताए।

राजमार्गको प्रसङ्ग कोट्याउँदै उनले भट्टराईको यस कृतिले गीतको नयाँ राजमार्ग निर्माण गरेको बताए। प्राडा भीम खतिवडाले ‘गुनासो’ ले विविध पक्ष सम्बोधन गरेको बताए।

नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेको खतिवडाले एउटा कृति बाहिर आउन ४ दशक लागेकामा लेखकसँग गुनासोसमेत व्यक्त गरे।

उनले भने, ‘४० को दशकमा लेखिएका गीतको सङ्ग्रह ५२ मा आउनुपर्थ्याे, ६२ मा आउनुपर्थ्याे। ८२ किन लाग्यो? लेखकलाई यो हामी सबै पाठकको गुनासो छ।’

कार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एकएक गीत गाएका थिए।

प्रकाशित: १८ माघ २०८२ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App