कला/साहित्य

‘लालिमा’ फागुन २९ मा प्रदर्शन हुने, पहिलो पोस्टर सार्वजनिक

फिल्म ‘लालिमा’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

निर्देशक रोशन मिराजको निर्देशनमा बनेको यस फिल्ममा नायिका रोशनी कार्की मुख्य भूमिकामा देखिनेछिन्। उनका साथमा उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको समेत प्रमुख अभिनय रहेको छ।

निर्देशक मिराजका अनुसार ‘लालिमा’ करिब तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित सामाजिक कथामा निर्माण गरिएको हो। फिल्ममा रोशनी कार्कीले ‘लालिमा’को भूमिका निर्वाह गरेकी छिन् भने उनकी आमाको भूमिकामा उषा रजक देखिने छिन्।

फिल्मको कथाबारे निर्देशक मिराज भन्छन्, 'एक घटनापछि लालिमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन्। आमालाई मुक्त गराउने प्रयासमा लालिमा सहरको कठोर र अँध्यारो संसारमा प्रवेश गर्न बाध्य हुन्छिन्, जहाँ उनी शारीरिक, मानसिक र भावनात्मक पीडामा बाँच्नुपर्छ।'

सार्वजनिक पोस्टरमा रोशनी कार्कीलाई एक्लै फिचर गरिएको छ। झ्यालको छेउमा संकटग्रस्त अवस्थामा बसेकी उनी सेतो कपडाले शरीर छोपेको अवस्थामा देखिन्छिन्, जसले पात्रको पीडा र संघर्ष झल्काउँछ।

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने कथा लेखक स्वयं निर्देशक मिराज हुन्। ‘लालिमा’ पीडा, शोषण र संरचनागत अन्यायविरुद्ध मानवीय साहसको कथा प्रस्तुत गर्ने फिल्मका रूपमा निर्माण गरिएको छ।

प्रकाशित: २७ माघ २०८२ १९:३० मंगलबार