कला/साहित्य

बहाना

लघुकथा

सधैँ वर्षझैँ यो वर्ष पनि विद्यालयको वार्षिकोत्सव मनाउने तयारी भयो। कार्यक्रम गर्न ठूलै धनराशि चाहिने भयो तर विद्यालयसँग पर्याप्त बजेट थिएन। हेडसरले शिक्षकद्वय उमेश र रमेशलाई बोलाएर सरसल्लाह गर्न थाले।

हेडसरले समस्या तेर्स्याएपछि समाधान खोज्दै रमेशले भने, `` जिल्ला शिक्षा कार्यलयमा चन्दा माग्ने कि? ´´

हेडसरले सबैतिर प्रयास गरेको तर हात लाग्यो शून्य भनेपछि उमेशले भने, ``अभिभावकसँग हारगुहार गरौँ।´´

हेडसरले गम्भीरतापूर्क लिँदै भने, ``विचार राम्रो हो। अन्तिम प्रयास गरौँ। ´´

रमेशले आफू पन्छिन खोज्दै हत्त न पत्त भने,`` उमेश सर, तपाईं पहल गर्नुस्। यस्तो कार्यमा तपाईं पोख्त पनि हुनुहुन्छ।´´

उमेशले हेडसरको अनुहार पुलुक्क हेरे। हेडसरले उनको आशय बुझे र भने,``उहाँ त विशेष कारणले तीन महिनाको बिदामा बस्दै हुनुहुन्छ।´´

रमेश केही सुझाउन खोज्दै थिए। हेडसरले उनलाई रोकेर भने,``काम अह्राउन सजिलो भए पनि गर्न गाह्रो हुन्छ। समय थोरै छ। यो जिम्मेवारी तपाई लिनुहोला। ´´

उनले एककदम पछि सर्दै भने, ``सरी सर, म यतिबेला घरायसी तनावमा छु। जिम्मेवारी अरू कसैलाई दिनु होला।´´

प्रकाशित: २८ भाद्र २०८३ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App