कला/साहित्य

पिता-पुत्रको संयुक्त कवितासंग्रह 'वंशवृक्ष' को परिचर्चा

साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा आज चैत ४ गते कविद्वय प्रा.पुरूषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति 'वंशवृक्ष'को परिचर्चा तथा कविता वाचन भएको छ।

कविद्वय बीचको सम्बन्ध पिता पुत्रको हो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्राडा कुलप्रसाद कोइराला रहेका थिए।

अन्य आमन्त्रित व्यक्तित्वहरूमा समालोचक युवराज मैनाली, खेमनाथ दाहाल, डा.ज्ञानु अधिकारी, कला निधि दाहाल, उपप्राध्यापक घनेन्द्र ओझा लगायत घरपरिवार सदस्य तथा साहित्यकारहरूको उपस्थिति  थियो।

प्रमुख आमन्त्रित व्यक्तित्व प्राडा कुलप्रसाद कोइरालाले आफ्नो मन्तव्यमा वाल्मीकि ऋषिदेखि कवि कालिदासको प्रसङ्ग उठाएका थिए। वंशवृक्षबारे बोल्दै उनले पिता- पुत्रको संयुक्त कृतिको लागि प्रशंसा सहित बधाई दिएका थिए। पिताको जीवाणु अंश छोराछोरीमा जानु स्वाभाविक भएको बताउँदै उनले बाबु छोराको कुरा नभई सिर्जनशीलताको कुरा बताए। पूर्वीय दर्शन बारे बोल्दै उनले वेद विज्ञानमय र विज्ञान वेदमय भएको बताए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा वंशवृक्षको लाेकार्पण गरिएको स्मरण गराउँदै संयुक्त रूपमा परिचर्चा कार्यक्रम गरिएको बताए।

उनले कविद्वय दाहाल पिता-पुत्रको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दा ३० को दशकको कवि र एआई जमानाका कविको संयुक्त कृतिका लागि बधाई दिएका थिए। राजनीतिक परिदृश्यबारे बोल्दै उनले कवि तथा लेखकहरू प्रतिपक्षका रूपमा रहनुपर्ने बताए।

कार्यक्रममा कवि प्रा. पुरूषोत्तम दाहालले वंशवृक्ष कृतिबारे संक्षेपमा प्रकाश पार्दै पुत्र अनिमेषलाई साहित्यकारहरूसँग साक्षात्कार गराउन परिचर्चा कार्यक्रम गरिएको बताए।

वंशवृक्षको रचना अमेरिकामा रहँदा भएको उल्लेख गर्दै उनले विमोचनका समयमा अनिमेष अमेरिकामा रहेको बताए। कवि दाहालको पहिलो कविताकृति 'साँध' बाट एउटा गीत र साँध शीर्षककै कविता सुनाएका थिए।साथै, उनले वंशवृक्ष कृतिबाट' साथी ! रक्सी देउ र पुस्तक लैजाउ कविता लगायत अन्य केही कविता सुनाएका थिए।

सुभाषचन्द्र पौडेल'भीमफेदीया' काे अनुसार कार्यक्रममा कवि अनिमेषले उनको पछिल्लो कविता'म न हिंडेका बाटाहरू' र वंशवृक्षबाट मनराजा,बिहानी, मभित्रको कवि, जीवन, पैसा, बूढो, भूकम्प  कविताहरू सुनाएका थिए।

गणेश सुवेदीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा समालोचक युवराज मैनाली, डा. ज्ञानु अधिकारी, उप-प्राध्यापक घनेन्द्र ओझाले वंशवृक्ष कविताकृतिमाथि संक्षेपमा समीक्षात्मक टिप्पणी सहित परिचर्चा गरेका थिए।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रममा खेमनाथ दाहाल, कलानिधि दाहाल, ठाकुर शर्मा भण्डारी, दुर्गा भँवरकोटी, डा. कृष्णप्रसाद भट्टराई, जीवन श्रेष्ठ लगायत अन्य केही साहित्यकारहरूले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए। कृति'वंशवृक्ष' मिलापले प्रकाशित गरेको बताउँदै उनले पुस्तकको न्वारान आफैँले गर्न पाएकोमा गर्वको महसुस गरेको बताए। 

प्रकाशित: ५ चैत्र २०८२ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App