कला/साहित्य

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट स्रष्टाहरू सम्मानित

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार अर्पिएकाे छ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य साधक मनबहादुर मुखियालाई १ लाख १ हजार रूपैयाँसहित अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ अर्पिएकाे छ।

त्यस्तै प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई १ लाख रूपैयाँसहित राष्ट्रिय कलाश्री पुरस्कार अर्पिएकाे छ।

कवि तथा अनुवादक, सशक्त शब्दशिल्पी निमेष निखिललाईनगद ७५ हजार रूपैया सहितको ससिद्धि राष्ट्रिय कलाश्री पुरस्कार २०८२ अर्पिएकाे छ।

मिथिला चित्रकारिताका साधक स्रष्टा एससी सुमनलाई ६० हजार रूपैयाँसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार अर्पिएकाे छ।

साहित्यिक पत्रकार एवम् स्रष्टा राजेश खनाललाई ५० हजार राशिसहित बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार अर्पिएकाे छ।

प्रसिद्ध लोकगायक तथा अन्वेषक नेपाली लोकसाङ्गीतिक जगतका सङ्घर्षशील स्रष्टा झुमा लिम्बूलाई नगद ५० हजार राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार अर्पिएकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीका अनुसार प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षता तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति विशिष्ट चित्रकार किरण मानन्धरको प्रमुख आतिथ्यमा पुरस्कार अर्पिएकाे हाे।

कवि मणि लोहनीले सहजीकरण गरेकाे कार्यक्रममा प्रमुख अतिथि किरण मानन्धर, अध्यक्ष मोमिला, सम्मानित मुखिया, श्रीओम श्रेष्ठ, निमेष निखिल र प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले मन्तव्य राखेका थिए।

यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान, रामेश, परशु प्रधान, किरण मानन्धर, यादव खरेल र वीणा पौडेललाई प्रदान गरिसकिएको छ।

त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाई, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक, अशेष मल्ल, मञ्जु काँचुली, प्राडा लक्ष्मण गौतम, भागीरथी श्रेष्ठ र विश्वविमोहन श्रेष्ठलाई अर्पिएको थियो।

१४ वर्षदेखि अर्पिँदै आएको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनुमञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा, ठाकुर बेलवासे, केशव सिग्देल, भूपिन, कृसु क्षत्री र चन्द्र गुरुङलाई अर्पिएको थियो।

यस्तै बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, लक्ष्मी उप्रेती, धीरेन्द्र प्रेमर्षि, डा. टङ्क उप्रेती, अश्विनी कोइराला र वसन्त बस्नेतले प्राप्त गरिसकेका छन् भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार-२०७५ चित्रकार एरिना ताम्राकार, २०७६ मा मूर्तिकार विक्रमश्री, २०७७ मा विधाता केसी, २०७८ मा ओम केसी, २०७९ मा फोटोकार जगदीश तिवारी, २०८० मा सम्झना राजभण्डारी र २०८१ म सुनील सिग्देलले अर्पिएकाे थियाे।

त्यस्तै ६ वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार यसअघि क्रमशः शिशिर योगी, मिलन नेवार, शिव परियार, मेलिना राई, सन्तोष श्रेष्ठ र कमलीकान्त भेटवाललाई अर्पिएको थियो।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठान राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्वपरिवेशमा परिचित गराउन प्रतिबद्ध संस्था हो।

संस्थाका सदस्य तथा लाेकप्रिय समालाेचक महेश पाैड्यालले प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू १७ वर्षदेखि अर्पिंदै आएकाे बताए।

प्रकाशित: ५ फाल्गुन २०८२ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App