बलिउड चलचित्र ‘मिर्जापुरः द फिल्म’ मा समावेश चर्चित गीत ‘शूरवीर’ को प्रतिलिपि अधिकार सम्बन्धी विवाद अन्ततः साम्य भएको छ।
संगीत कम्पनी ‘ट्रूपर रेकर्ड्स’ ले चलचित्रको निर्माण कम्पनी ‘एक्सेल इन्टरटेनमेन्ट’ लाई आधिकारिक रूपमा गीतको लाइसेन्स प्रदान गरिएको स्पष्ट पारेसँगै यो विवाद समाधानतर्फ गएको हो।
गत सेप्टेम्बर ४ देखि नेपाल, भारतलगायत विभिन्न देशमा प्रदर्शनमा आएको यस चलचित्रमा ‘शूरवीर’ गीत बिनाअनुमति प्रयोग गरिएको दाबी राजस्थानी र्यापर तथा कलाकार र्यापरिया बालमले गरेका थिए।
उनले सामाजिक सञ्जाल मार्फत् आफ्नो अनुमतिबिनै गीत चलचित्रमा समावेश गरिएको भन्दै आपत्ति जनाएका थिए।
गीतलाई गलत सन्दर्भमा प्रयोग गरिएको भन्दै र्यापरियाले असन्तुष्टि पोखेका थिए। उनका अनुसार यो गीत ऐतिहासिक योद्धा महाराणा प्रतापलाई समर्पित गरेर सिर्जना गरिएको थियो।
तर, चलचित्रमा यसलाई मारधाड, गोली हानाहान र खलनायकको महिमामण्डन गर्ने दृश्यमा प्रयोग गरेर राजस्थानको छवि बिगार्ने काम भएको उनको आरोप थियो।
‘तपाईंहरूलाई लाग्न सक्छ मिर्जापुरमा गीत प्रयोग हुँदा म खुसी हुनुपर्छ, तर टिमले मसँग कुनै अनुमति लिएन,’ भिडियोमा उनले भनेका थिए, ‘महाराणा प्रतापजीलाई समर्पित गीत खलनायकको महिमामण्डन गर्न प्रयोग गर्नु कत्तिको सही हो ? यदि निर्माण टिम मसँग आएर छलफल गरेको भए हामी उनीहरूलाई अरू १० वटा रचनात्मक उपाय दिन सक्थ्यौं।’
कलाकार बालमले गीतको प्रतिलिपि अधिकार र लाइसेन्स प्रक्रिया कसले कसलाई दियो भन्दै वैधतामाथि समेत प्रश्न उठाएका थिए। उनले अनुमति दिने निकायसँग वास्तविक प्रतिलिपि अधिकार थियो वा थिएन भनी प्रमाणित गर्न चुनौती दिएका थिए।
तर, ट्रूपर रेकर्ड्सले एक्सेल इन्टरटेनमेन्टलाई कानुनी प्रक्रिया पूरा गरी आधिकारिक लाइसेन्स दिइएको प्रस्ट पारेपछि यो विवाद तत्कालका लागि शान्त भएको छ।
यद्यपि, गीतका सर्जक र्यापरिया बालम र म्युजिक लेबलबीच प्रतिलिपि अधिकार तथा व्यावसायिक सम्झौताबारे भित्री सहमति के थियो भन्ने विषय भने अझै सार्वजनिक भइसकेको छैन।
प्रकाशित: २२ भाद्र २०८३ १७:३८ सोमबार