कला/साहित्य

मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराई किन हटे कमेडी च्याम्पियनको निर्णायकबाट

विशाल भण्डारीको निर्देशनमा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन शनिबारदेखि प्रसारण सुरु भएको छ।

शोको ग्रान्ड प्रिमियरस्वरूप पहिलो एपिसोड सार्वजनिक गरिएको हो। पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलबाट प्रसारण भएको थियो। एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी पाहुनाका रूपमा सहभागी भएका थिए।

विगतका सिजनको तुलनामा चौथो सिजनमा निर्णायक प्यानलमा केही परिवर्तन गरिएको छ। पहिलो, दोस्रो र तेस्रो सिजनमा निर्णायक रहेकी ऋचा शर्मा भने निरन्तर छिन्। यसपटक मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल र बुद्धि तामाङ जोडिएका छन्।

तीनवटै सिजनमा एउटै निर्णायक प्यानल रहँदा जोकको प्याटर्न र ‘इनसाइड जोक’ पनि उस्तै हुँदै गएकाले यसपटक केही भेरिएसन ल्याउन निर्णायक प्यानल परिवर्तन गरिएको निर्देशक भण्डारीले बताएका छन्।

फरक जोक, नयाँ शैली र अझै ‘फ्रेस’ रोस्ट प्रस्तुत गर्ने उद्देश्यले निर्णायक प्यानलमा परिवर्तन गरिएको उनको भनाइ छ।

कार्यक्रम सञ्चालनतर्फ पनि परिवर्तन गरिएको छ। मेक्सम गौडेलले कार्यक्रम सञ्चालनमा निरन्तरता पाएका छन् भने रीमा विश्वकर्मा सांसद बनेपछि उनको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ।

करिब ३० एपिसोडको यो शोका प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन्।

प्रकाशित: ४ आश्विन २०८३ १८:०६ आइतबार