जलवायु परिवर्तनले किसानमा पारेको प्रभाव अध्ययन गर्न हामी ग्रामीण बस्तीतिर जाँदै थियौं। लक्षित समूह छलफल र सरोकारवालासँग भेटघाट गर्ने योजना थियो। अघिल्लो दिनकै सहमतिअनुसार बिहानै गाडीमा हिँड्ने र चिया–खाना बाटैमा खाने निर्णय भयो।
बिहान सबै साथी होटलको लबीमा जम्मा भयौं। कसैले भन्यो, ‘चिया होटलमै खाने कि बाटामा?’
अर्को साथीले सुझाव दिए, “बाटाका पसलमा चिया खाऔं न। फरक स्वाद, फरक अनुभूति।”
सबैलाई मन पर्यो। हामी चालकसहित सात जना गाडीमा चढ्यौँ। चालक स्थानीय भएकाले राम्रो चिया पसलमा रोक्ने जिम्मा पनि उसैलाई दियौँ।
केहीबेरपछि राजमार्गछेउका चार–पाँच चिया पसल देखिए। गाडी रोकियो। हामी सबै ओर्लियौं।
मैले सोधेँ, “कसकसलाई कस्तो चिया चाहियो?”
एकजना साथीले साेध्याे, “कस्तोकस्तो चिया?”
मैले हाँस्दै भनेँ, “दुध चिया, कालो चिया, रातो चिया, मसला चिया - आफ्नो रोजाइको।”
मबाहेक सबैले कालो चिया खाने बताए।
कसैले भन्यो, “बिहानै दुध चिया खाँदा ग्यास्टिक बढ्छ।”
मैले भनेँ, “म त दुध चिया नै खाने।”
साथीहरू हाँस्न थाले र भने‚ “सरले दुध चिया?”
मैले पनि मजाकमै भनेँ, “सडक किनारका झुपडी पसलमा दाउराको आगोमा पकाएको गाउँको बाक्लो दुध चियाको स्वाद नै बेग्लै हुन्छ।”
सबै हाँस्दै सहमत भए। म अगाडि बढेर चिया अर्डर गर्न गएँ।
“दाजु, सात कप चिया बनाइदिनुस् न‚ एक कप दुध चिया र छ कप कालो चिया।”
चिया पसलेले हामी सबैलाई नियालेर हेरे र शान्त स्वरमा भने, “यहाँ कालो चिया बन्दैन।”
म छक्क परेँ। “दुध नराखेपछि त कालो चिया बनिहाल्छ नि! किन बन्दैन?”
तर उनले फेरि उही जवाफ दिए‚ “यहाँ कालो चिया बन्दैन।”
हामी दोस्रो पसलमा गयौँ। त्यहाँ पनि उही जवाफ। तेस्रो पसलमा पनि त्यस्तै।
तीनैवटा पसलेले हामीलाई फेददेखि टुप्पासम्म नियालेर हेर्दै "यहाँ कालो चिया बन्दैन" भनेपछि हामी अक्क न बक्क भयौँ। तीनै पसलबाट उही जवाफ पाएपछि हाम्रो अनुसन्धानको टोली आफैँमा अनुसन्धान गर्न बाध्य भयो। आखिर तातो पानी र चियापत्ती हाल्दा बन्ने चिज यहाँ किन 'बन्दैन'?
अब हामी सबैलाई चासो लाग्यो।
मैले चालकलाई सोधेँ, “यो के कुरा हो? कालो चिया किन बन्दैन?”
चालक हाँस्दै भने, “यसको कारण छ।”
सबैजना उसको कुरा सुन्न नजिकियौँ।
उसले भने‚ “यहाँ कालो चियालाई चिया नै मानिँदैन। यहाँ चिया भनेकै दुध चिया हो। कालो चिया प्रायः दीनदुःखी मानिसले माग्छन्। पसलेहरूले त्यसको पैसा पनि लिँदैनन्‚ सित्तैमा दिन्छन्।”
हामी झन् चकित भयौँ।
चालकले थपे, “तपाईंहरूलाई हेरेर उनीहरूले दुध चिया खाने हैसियतका मानिस ठाने। अनि सोचे‚ यी सहरियाले एक कप दुध चियाको पैसा तिरेर बाँकी छ कप कालो चिया सित्तैमा खान खोज्दै छन्।”
अब कुरा बुझियो।
मैले भनेँ, “अनि अब चिया कसरी खाने त?”
साथीहरू हाँसे। मैले मजाकमै प्रस्ताव राखेँ, “सबैले दुध चिया अर्डर गरौँ। यो हाम्रो सानो अनुसन्धान भयो‚ अनुमान परीक्षण।”
साथीहरू झन् हाँसे, “तपाईं त जहाँ पनि अनुसन्धान नै गर्नुहुन्छ!”
म तेस्रो पसलमा गएँ र भनेँ, “दाजु, सात कप दुध चिया बनाइदिनुस् न।”
केहीबेरमै सात कप तात्तातो दुध चिया आयो। हामीले मजले चिया पियौँ र निकै लामो हाँसो हाँस्यौँ।
प्रकाशित: १५ चैत्र २०८२ ०९:३१ आइतबार



