बेलबारीका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को तेस्रो कृति ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) को बेलबारीमा लोकार्पण भएको छ।
कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा बेलबारी बहुमुखी क्याम्पसकाे सहकार्यमा उक्त कृतिको लोकार्पण भएको हो।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा भीम खतिवडाकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
बेलबारी बहुमुखी क्याम्पसमा प्रमुख अतिथि प्राडा भीम खतिवडा, कार्यक्रमका सभाध्यक्ष केशु विरही, कवि तथा समालोचक डा. दीपकप्रसाद न्यौपाने, बेलबारीका अग्रज स्रष्टा हर्कमान तामाङ, मुक्तककार नवशिला तथा उनका पितामाता लक्ष्मीप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलले कृतिको लोकार्पण गरेका हुन्।
डा. दीपकप्रसाद न्यौपानेले लोकार्पित कृतिको समीक्षा गरेका थिए। महेन्द्र बहुमुखी क्याम्पस, धरानका नेपाली विभाग प्रमुखसमेत रहेका न्यौपानेले ‘नवशिला’ को ‘सिलसिला’ का मुक्तकले सुन्दर ढङ्गले विविध विषय प्रस्तुत गरेको बताए।
समीक्षक न्यौपानेले कृतिमाथिको बृहत् चर्चा गरेका थिए। नयाँ कृतिका लागि बधाई दिँदै कृतिकारलाई आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न सुझावसमेत दिए।
कार्यक्रममा युवा कवि सिजन श्रेष्ठले मुक्तककार नवशिलाकाे जीवनी तथा व्यक्तित्व प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्राडा भीम खतिवडाले कृतिकारको साहित्यिक सक्रियताको खुलेर प्रशंसा गर्दै यसको निरन्तरताको कामनासमेत गरे।
सभाध्यक्षको मन्तव्य प्रस्तुत गर्दै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले संस्थाले फरक शैलीबाट कार्यक्रम अघि बढाएको बताए।
कृतिकार पोखरेलले आफूलाई लेखक बनाउनमा आफ्नी धर्मपत्नी शिला भण्डारीको हात रहेको बताए।
कार्यक्रममा असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव एवम् सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाई लगायतको शुभकामना मन्तव्य रहेको थियो। सबै वक्ताले संस्था तथा कृतिकारलाई बधाई तथा शुभकामना प्रदान गरे।
कार्यक्रममा डा. नरेन्द्र चापागाई साहित्य प्रतिष्ठानका अध्यक्ष, अग्रज स्रष्टा सरला चापागाई, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, लेटाङ साहित्य कला सङ्गमका निवर्तमान अध्यक्ष डिल्लीराम ओझा, विराट मैथिल नाट्यकला परिषद् विराटनगरका अध्यक्ष डोमी कामत, नोबेल साहित्य साकोसका उपाध्यक्ष भूपाल अधिकारी लगायतको उपस्थिति थियो।
संस्थाका कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले सञ्चालन गरेकाेकार्यक्रममा बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाई, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली, नानुमाया दाहाल लगायतले लोकार्पित कृतिका रचना वाचेका थिए।
कार्यक्रमको सुरुआतमा साहित्य विभाग सहसंयोजक, लघुकथाकार शारदा दाहालले उपस्थित सबैलाई शब्द मार्फत स्वागत गरेकी थिइन्।
प्रकाशित: ८ फाल्गुन २०८२ ०७:५४ शुक्रबार



