बलिउड अभिनेत्री नीना गुप्ताले बडी शेमिङ र विवाहलाई लिएर आफूलाई प्रश्न गर्नेहरुलाई जवाफ दिएकी छन्।
हालै एक अन्तर्वार्तामा उनलाई मानिसहरूले विवाहबारे प्रश्न उठाउदा आफूले कसरी त्यसलाई 'हान्डल' गर्ने भन्ने प्रश्नमा उनले जवाफ दिएकी छन्। उक्त अन्तर्वार्तामा नीनाले भनिन्, 'म तिम्रो बाउको खाइरहेको छैन नि, आफ्नै बाउको खाइरहेको छु। तिमीलाई के समस्या छ, विवाह गरेँ कि गरिनँ?'
त्यस्तै, कसैले ‘तपाईं पहिलेभन्दा मोटी हुनुभयो’ भन्यो भने के जवाफ दिने भनेर सोध्दा नीनाले हाँस्दै भनिन्, 'गर्भवती छु।'
नीनाले आफूलाई तौल र शरीरलाई लिएर गरिने टिप्पणीले निकै हैरान बनाउने गरेको पनि बताइन्। हालै आफूले अलि बाक्लो साडी लगाएको र त्यसका कारण शरीरको एउटा भाग केही बढी भद्दा देखिएको उनले बताइन्। त्यसपछि मानिसहरूले ‘नीना गुप्ता ६० वर्षको उमेरमा गर्भवती भइन्’ भन्न थालेका थिए।
त्यसपछि आफूले भनेको कुरा सम्झाउँदै नीनाले भनिन्, 'अब कसैले सोध्यो भने म गर्भवती छु भनिदिनू।'
नीना गुप्ताले गत वर्ष एयरपोर्टमा छोटो पाइन्ट (शर्ट्स) लगाएर आफ्नो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि ट्रोलिङको सामना गर्नुपरेको थियो। त्यसबेला उनले ट्रोल गर्नेहरूलाई कडा जवाफ दिएकी थिइन्।
नीना गुप्ताको निजी जीवनमा पनि विभिन्न उतारचढाव आएका छन्। कलेज पढ्ने क्रममा उनले आईआईटी दिल्लीमा अध्ययन गरिरहेका अमलान घोषसँग विवाह गरेकी थिइन्। तर उनीहरूको वैवाहिक सम्बन्ध एक वर्षभित्रै आपसी सहमतिमा टुंगिएको थियो।
त्यसपछि नीनाको इन्गेजमेन्ट शारंगदेव पण्डितसँग भएको थियो। तर त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन।
सन् १९८० को दशकको अन्त्यतिर नीना गुप्ता वेस्ट इन्डिजका पूर्व क्रिकेटर विव रिचर्ड्ससँग सम्बन्धमा थिइन्। उनीहरूले विवाह गरेनन्, तर सन् १९८९ मा उनीहरूकी छोरी मसाबा गुप्ताको जन्म भयो।
विव रिचर्ड्स पहिले नै विवाहित भएकाले नीनाले मसाबाको पालनपोषण एकल आमाका रूपमा गर्ने निर्णय गरेकी थिइन्। सन् २००८ मा उनले अमेरिकामा नयाँ दिल्लीका चार्टर्ड अकाउन्टेन्ट विवेक मेहरासँग निजी समारोहमा विवाह गरिन्।
नीना बलिउड चलचित्र तथा सिरिजको लागि चर्चित छिन्। यनी अभिनित कमेडी–ड्रामा सिरिज ‘चुम्बक’ हालै रिलिज भएको छ। सिरिजको कथा एक सहरी भारतीय मोहल्लामा बस्ने पाँच परिवारको वरिपरि घुम्छ।
प्रकाशित: २७ भाद्र २०८३ १२:११ शनिबार