कला/साहित्य

हनिमुन मनाउन छोराहरूसँगै अस्ट्रेलिया उडे आमिर र गौरी

बलिउड अभिनेता आमिर खान प्रेमिका गौरी स्प्रेटसँग विवाह गरेको एक हप्ता नपुग्दै हनिमुन मनाउन अस्ट्रेलिया उडेका छन्। जुलाई ५ मा बान्द्रास्थित घरमा नजिकका आफन्त र परिवारका सदस्यको उपस्थितिमा सामान्य समारोहबिच उनीहरूले विवाह गरेका थिए।

नवदम्पतिको यो यात्रा केवल घुमघाम मात्र नभई आमिरको कामका लागि पनि भएको खुलेको छ। साथमा आमिरका छोरा आजाद र गौरीका छोरा क्विन पनि रहेका छन्। यसले दुवै परिवारका बालबालिकालाई एकअर्कासँग घुलमिल हुने र आमिरलाई क्विनसँग केही गुणस्तरीय समय बिताउने अवसर दिएको छ।

अस्ट्रेलिया भ्रमणकै क्रममा आमिर खानले नयाँ फिल्म 'सिल्क्यारा ४१' को घोषणा गरेका छन्। आमिर खान प्रोडक्सन्स, माइन्ड ब्लोइङ फिल्म्स र कबीर खान फिल्म्सको संयुक्त निर्माणमा बन्ने यो फिल्म सिल्क्यारा सुरुङको ऐतिहासिक उद्धार कार्य र प्रोफेसर अर्नोल्ड डिक्सको योगदानमा आधारित छ। कबीर खानले निर्देशन गर्ने यो फिल्म भारत र अस्ट्रेलियाबिचको मित्रता र मानवीय साहसको एउटा बलियो उदाहरण बन्ने बताइएको छ।

आमिर खान सन् २०२६ मा आयोजना हुने मेलबर्नको भारतीय फिल्म महोत्सवमा सहभागी हुने कार्यक्रम पनि रहेको छ। उनी फिल्म 'सितारे जमीन पर' मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेता विधामा मनोनयनमा परेका छन्। यो विधामा आमिरसँगै रणवीर सिंह, अहान पाण्डे, दुल्कर सलमान, ममुट्टी, ऋषभ शेट्टी र सञ्जय मिश्र पनि प्रतिस्पर्धामा छन्।

विवाहका क्रममा आमिरले गौरीलाई लक्जरी ब्रान्ड क्वीनले डिजाइन गरेको विशेष औंठी उपहार दिएका थिए। यो औंठी छनोट गर्न उनले तीन महिना लगाएको दाबी गरिएको छ। सुनमा जडिएको यो औंठीमा ४० वटा हीरा र मेडागास्करबाट ल्याइएको दुर्लभ प्राकृतिक माणिक ढुंगा राखिएको छ।

साथै, उनीहरू चाँडै नै आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन्। उनको मरीना अपार्टमेन्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आमिरले उक्त भवनमा तीनवटा अपार्टमेन्ट खरिद गरेका छन्, जसका लागि उनले १०० करोड भारतीय रुपैयाँ अग्रिम भुक्तानी समेत गरिसकेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

नयाँ घरमा आमिर आफ्नी पत्नी गौरी, छोराहरू आजाद र क्विनसँग रहनेछन्। रिपोर्टका अनुसार आमिरकी पूर्वपत्नी किरण राव, आमिरकी आमा र दिदीबहिनी निखत र फरहत पनि सोही अपार्टमेन्टमा बस्नेछन्। निर्माण पूरा नभएसम्म आमिर अहिले पाली घरमा बस्दै आएका छन्।

प्रकाशित: २८ असार २०८३ १२:३३ आइतबार