बलिउड अभिनेता आमिर खानले सामाजिक अभियन्ता सोनम वाङचुकको जारी आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।
उनले वाङचुकको स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै सकेसम्म छिट्टै अनशन अन्त्य गर्ने आशा व्यक्त गरेका छन्।
लन्डन इन्डियन फिल्म फेस्टिभलको समापन समारोहमा बोल्दै आमिरले आफ्नो चर्चित फिल्म ‘थ्री इडियट्स’ मा आफूले निभाएको ‘र्यान्चो’ पात्र सोनम वाङचुकबाट प्रेरित भएको भन्ने लामो समयदेखिको धारणा अस्वीकार गरेका हुन्।
उनले फिल्मको पात्र वाङचुकको जीवनमा आधारित नभएको स्पष्ट पार्दै यस विषयमा फैलिएको धारणालाई खण्डन गरे।
पछिल्ला २० दिनदेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आमरण अनशनमा रहेका वाङचुकको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका बेला आमिरको प्रतिक्रिया आएको हो।
यसअघि अन्ना हजारेको आन्दोलनमा समर्थन जनाएका आमिर यसपटक मौन बसेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठिरहेका थिए।
लन्डन इन्डियन फिल्म फेस्टिभलमा आमिर अभिनीत ‘लगान’ चलचित्रको प्रदर्शन गरिएको थियो। फिल्म प्रदर्शन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित विशेष अन्तर्क्रियाका क्रममा उनले दर्शकका प्रश्नहरूको जवाफ दिएका थिए।
यसअघि ‘थ्री इडियट्स’मा चतुर रामालिङ्गमको भूमिका निभाएका अभिनेता ओमी वैद्यले पनि वाङचुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत वाङचुकको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
‘थ्री इडियट्स’का पात्र ‘फुनसुख वाङडु’ सोनम वाङचुकबाट प्रेरित भएको चर्चा वर्षौंदेखि हुँदै आए पनि वाङचुक स्वयंले यस दाबीलाई पटक–पटक अस्वीकार गर्दै आएका छन्। आमिर खानले पनि अब सार्वजनिक रूपमा यही धारणालाई दोहोर्याएका छन्।
प्रकाशित: १ श्रावण २०८३ १२:५९ शुक्रबार



